गैंडाकोट
विद्यालयमा उत्पन्न भएका असन्तुष्टीहरु चिर्न लक्ष्मी माध्यमिक विद्यालय गैंडाकोट १५ ले पत्रकार सम्मेलनको आयोजना गरेको छ । शुक्रबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक मणीकण्ठ कंडेल, गैंडाकोट नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रेमराज तिमल्सिना, विद्यालयका लेखापाल बासुदेब खनाल लगायत उपस्थित व्यक्तिहरुले असन्तुष्ट अभिभावकहरुले विद्यालयको प्रशासन कक्षमा गरिएको तालाबन्दी सान्दर्भिक नभएको बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक कंडेलले विद्यालयमा व्यवस्थापन समिति नहुँदा विकास निर्माणका काम एवं अन्य थुप्रै कामहरु अगाडि बढ्न नसकेकाले नगर शिक्षा शाखाको सुझाव अनुसार विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियालाई अगाडी बढाएको बताउनुभयो। पत्रकार सम्मेलनमा प्रधानाध्यापक कंडेलले भन्नुभयो- व्यवस्थापन समिति गठन गर्न माघ २८ गते अभिभावक भेला बोलाइएको थियो, जसमा ३२ जना आकांक्षीले नाम टिपाउनुभएको थियो, जसमध्ये फागुन २ गते दुई जना सर्वसम्मत छनोट गरिएको थियो । फाल्गुन १० गते भने खुलातर्फका १३ जना आकांक्षीमध्ये सहमतिबाट नौ जनाले नाम फिर्ता लिनुभएको थियो ।
बाँकी रहेका ४ पद पदपुर्ति गर्नका लागि नगर शिक्षा समितिको सुझाव अनुसार अगाडी बढाइएको हो । कंडेलका अनुसार वैशाख २८ गते तत्कालीन विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिका अध्यक्ष, नगर शिक्षा अधिकारी एवं आकाक्षी चार जनाको संयुक्त भेला बस्यो तर उक्त भेलाबाट भने सहमति हुन सकेन । जसअनुसार नगर शिक्षा समितिले मिलेर आउन भनेपनि त्यो सम्भव देखिएन । दोस्रो विकल्पमा गोलाप्रथा थियो, त्यो पनि भएन र अन्तिम विकल्पमा गहन छलफल गरियो । त्यसमा पनि निस्कर्ष निस्केन । आँफुले आफ्नो जीवनकालमा लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न र विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन अहोरात्र खटिएको स्मरण गर्दै कंडेलले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा आँफूहरूको कुनै गलत मनसाय नभएको बताउनुभयो ।
उहाँले त्यस विषयमा असन्तुष्ट अभिभावकहरुले सम्पति शुद्धिकरण र आर्थिक हिनामिना साथै चलखेलका विषयमा लगाएको आरोप कपोलकल्पित र झूठा रहेको बताउनुभयो । उहाँले विद्यालयको हरहिसाव सबै चुस्त रहेको, नगरपालिकाको लेखा परीक्षकबाट लेखापरीक्षण हुने, हरेक वार्षिकोत्सवमा अभिभावकहरूलाई सुनाउने गरिएको बताउनुभयो । चन्दादाताबाट उठ्न बाँकी रकम नउठेकाले पनि अभिभावकहरुलाई त्यो रकम हिनामिना भयो भन्ने भ्रम परेको हुनसक्ने बतौनुभयो। साथै उहाँले कुनैपनि अभिभावकलाई आर्थिक विषयमा असन्तुष्टि भए कुनै पनि समय विद्यालयमा आएर हेर्न सकिने बताउनुभयो । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर १५ का वडा अध्यक्ष प्रेमराज तिमल्सिनाले आँफू पनि विद्यालयको भूतपूर्व विद्यार्थी रहेको र विद्यालयको हरेक विषयमा गम्भीर रहेको बताउनुभयो । साथै उहाँले विद्यालय जस्तो पवित्र ठाउँमा चलखेल गर्ने बारेमा सोच्नै नसकिने बताउनुभयो । उहाँले भन्नुभयो - बरु आँफै पुर्खौली सम्पत्ती बेचेर पनि विद्यालयको शैक्षिक गुणस्तर उकास्न खटिएको छ । अध्यक्ष तिमल्सिनाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट प्राप्त ४५ लाख रुपैयाँ, पुस्तकालय निर्माणका लागि प्राप्त साढे छ लाख रुपैयाँ, नगरपालिका स्तरीय बजेटबाट विभिन्न पूर्वाधार विकासका लागि आएका रकम आँफूहरुको सक्रियताले सम्भव भएको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर बढाउन र विद्यालयको गरिमा उच्च राख्न आँफूहरुले कुनै कसर बाँकी नराखेको बताउँदै सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको पछि नलाग्न अभिभावकहरूलाई आग्रह समेत गर्नुभयो ।
साथै विद्यालयका लेखापाल वासुदेव खनालले विद्यालयका हरेक हिसाबकिताब पारदर्शी र नियमसंगत रहेको साथै हरेक वर्ष अभिभावक भेलामा सार्वजनिक पनि गर्ने गरिएको बताउनुभयो । लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै अभिभावकहरूले जेठ ५ गते प्रशासन कक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएपनि विद्यालयको पठनपाठन भने सुचारु रहेको विद्यालयका प्रधानाध्यापक मनिकण्ठ कंडेलले हेर्नेपाटीलाई बताउनुभयो ।