नवलपुर
नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर १ लाई छुवाछुतमुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियानको पहलमा वडालाई छुवाछुतमुक्त घोषणा गरिएको हो ।
वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी र दलित जागरण अभियानका जिल्ला अध्यक्ष भिमबहादुर परियारले श्वेतपत्रमा हस्ताक्षर गरेर अभियान शुभारम्भ भएको घोषणा गरिएको हो ।बैशाख ३० गतेदेखि लागू हुने गरी वडालाई जातीय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गर्दै वडामा बस्ने जोसुकैले जातजाति, जन्म, आस्थाका आधारमा कसैमाथि भेदभाव तथा छुवाछुतको व्यवहार नगर्नेरनगराउने घोषणा गरिएको छ ।अव वडाभित्र पर्ने सार्वजनिक स्थानहरु धारा, कुवा, पधेरो, मठ, मन्दिर, अन्य धार्मिक स्थल, सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय, यातायातका साधन कतै पनि कुनै किसिमको भेदभाव नगर्ने घोषणा गरिएको छ । यदि त्यसो गरिएमा कानूनी कारवाही गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
दलित जागरण अभियानका राष्ट्रिय अध्यक्ष दधिराम परियारले यो एउटा ऐतिहासिक काम भएको भन्दै अव छिट्टै जिल्लाका सबै ५० वटै वडामा यो अभियान सञ्चालन गरी जिल्लालाई नै छुवाछुतमुक्त गरिने बताए ।नेपालको संविधान, कानून र मुलुकी सँहिता २०७४ अनुसार जातका आधारमा विभेद तथा छुवाछुत गर्ने वा गराउने व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था छ । संविधानमा जातीय विभेद गर्न नपाउने भएपछि व्यवहारमा कार्यान्वयन नभएको भन्दै यो अभियान गर्नु परेको अध्यक्ष परियारले बताए ।
कार्यक्रमा वडाअध्यक्ष सूर्यवंशीले जातीय छुवाछुत मुक्त घोषणाले परिवर्तनको आभार गराएको र अव वडामा कसैले पनि जातका आधारमा छुवाछुत गर्न नपाउने बताए । विगतमा जस्तो छुवाछुतको व्यवहार वडामा नरहेपनि पाका पुष्ता रहेको परिवारमा अझै पनि अन्तरजातीय बिवाहमा आनाकानी हुने गरेको भन्दै अव त्यो पनि शून्यमा झर्ने विश्वास अध्यक्ष सूर्यवंशीको छ ।उनका अनुसार बुलिङटारको १ नम्बर वडामा झण्डै ७०, ८० घरधुरी दलितको बसोवास छ ।