चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल संरक्षण केन्द्र्रले प्रत्येक वर्ष प्राकृतिक बासस्थानमा गोही छाड्दै आएको छ । प्राकृतिक बासस्थानमा भने गोहीको सङ्ख्या आशातीत वृद्धि हुन सकेको छैन । नारायणी नदीको सीमित क्षेत्र र राप्ती नदीमा मात्र गोहीको सङ्ख्या केही वृद्धि भएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार वन्यजन्तु सप्ताहको अवसर पारेर १० वटा गोही छाडिएसँगै चालु आर्थिक वर्षमा कसराघाट नजिकै एक सय, खगेन्द्रमल्ली नजिकबाट २० र सौराहाघाटनजिकैबाट ४० गरी १६० वटा गोही राप्ती नदीमा छाडिएको छ । विसं २०३८ देखि नदीमा गोही छाड्दै आएको केन्द्रले हालसम्म एक हजार ८५२ वटा गोही नदीमा छाडिसकेको छ ।
सूचना अधिकारी तिवारीले आफैँ आहारा खोज्न र खान सक्ने अवस्थामा पुगेका गोहीलाई नदीमा छाडिए पनि ती बासस्थानमा अपेक्षित रूपमा गोहीको सङ्ख्या वृद्धि हुन नसकेको बताउनुभयो । उहाँले नारायणी नदीको निकुञ्जको कोर क्षेत्र र राप्तीको सौराहादेखि गोलाघाटसम्म गोहीको राम्रो उपस्थिति रहेको बताउनुभयो । सामान्यतः प्राकृतिक बासस्थानबाट अन्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका १.५ मिटर लम्बाइ भएपछि गोहीलाई प्राकृतिक बासस्थानमा छोड्न योग्य मानिन्छ ।
केन्द्रमा हुर्काइएका घडियाल गोही राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबई नदीमा छाडिँदै आएको हो । पछिल्लो समय प्राकृतिक बासस्थानमा गोहीको सङ्ख्या ज्यादै न्यून हुने गरेपछि राप्ती नदीलाई बढी प्राथमिकतामा राख्ने गरिएको छ र यही नदीको प्राकृतिक बासस्थानमा गोही पाइने गरेको छ ।
विशेष गरी चैत, वैशाखमा नदी किनारमा गोहीले पारेका अन्डा सङ्कलन गरेर प्रजनन गराउँदै आएको केन्द्रले हाल केन्द्रमै केही वयस्क माउ राख्ने गरेको छ । यस केन्द्रमा हाल ६४९ भन्दा बढी विभिन्न उमेरका गोही छन् । विश्वमा लोपोन्मुख अवस्थामा रहेको घडियाल गोही साइटिस अनुसूचीमा एक नम्बरमा पर्ने जल र थल दुवै स्थानमा रहन सक्ने उभयचर प्राणी हो । मगर गोही पानी र जमिनमा पाइने विभिन्न प्रकारका जीवजन्तु र चरा खान रुचाउँछ भने घडियाल गोहीले माछा मात्र खान्छ । स्तनधारी जीवको तुलनामा यो गोही सबैभन्दा कम खाना खाएर बाँच्ने प्रकृतिको जीव हो । यसले हिउँदको समयमा ज्यादै थोरै मात्र खाना खान्छ ।
गोहीलाई सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिन्छ । यो सिमसार पारिस्थितिक प्रणालीको पिरामिडमा सबैभन्दा माथि रहेको मानिन्छ । त्यसैले यो लोप हुनु भनेको सिमसारमा रहने अन्य जातिका जीवको भविष्यसमेत सङ्कटमा छ भन्ने सङ्केत हो ।
विसं २०१६ पूर्वघडियाल गोही नेपालको कोशी, नारायणी, कर्णाली, बबई र महाकाली नदीमा प्रशस्त पाइन्थ्यो । पछिल्लो समय गोहीको सङ्ख्या ज्यादै कम हुन थालेपछि नेपाल सरकार र फ्य्राङ्कफर्ट जुलोजिकल सोसाइटीको संयुक्त प्रयासमा स्थापना भएको घडियाल संरक्षण केन्द्रलाई घडियालको आनुवंशिक कोशका रूपमा लिइन्छ । केन्द्रमा गोही हुर्काएर प्रत्येक वर्ष प्राकृतिक बासस्थानमा छाडिँदै आएको छ । गोहीले नदी किनारको अक्सर पहारिलो घाम लाग्ने स्थानको बालुवा खोस्रेर एक पटकमा १५ देखि ६० वटा अन्डा पार्ने र ती अन्डा सङ्कलन गरी केन्द्रमा रहेको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिन्छ । ती बच्चालाई आफैँ आहारा खोज्न सक्ने अवस्था नहुँदासम्म केन्द्रमै राख्ने र त्यसपछि प्राकृतिक बासस्थानमा छाडिन्छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार यस वर्ष नारायणी र राप्ती नदी किनारमा गोहीका गुँड पहिचान भइसकेको र अन्डा सङ्कलन जारी रहेको छ । सामान्यतया प्राकृतिक रूपमा बच्चा निस्कन सक्ने प्रकृतिका गुँडबाट थोरै र नष्ट हुने अवस्थाका गुँडबाट धेरै अन्डा सङ्कलन गर्ने गरिन्छ ।
प्राकृतिक बासस्थानमा बालुवाको तापव्रmमकै कारण ७० देखि एक सय दिनमा बच्चा निस्कन्छ । यो बेलासम्म पोथी गोही गुँडको रक्षार्थ सोही क्षेत्र वरपर बस्ने गर्छ । गोहीको अन्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायतका नदीमा पाइन्छन् । पछिल्लो समय अन्य नदीमा गोही लोप हुँदै आएको छ । राप्ती र नारायणी नदी किनारमा मात्र यसको प्राकृतिक बासस्थान भेटिने गरेको छ ।