काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले भ्रष्टाचार कम गर्ने गरी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिंदै उनले भ्रष्टाचार कम गर्न नेतृत्वमा सहनशीलता र संवेदना हुनुपर्ने बताए ।
बीपी कोइरालाले प्रधानमन्त्री हुँदा उनका एक जना भाइले तीन सय रुपैयाँ पर्ने नयाँ जुत्ता लगाउँदा पैसा कहाँबाट आएको भनी सोधेको र तुरुन्तै आफ्नो सचिवालयबाट बर्खास्त गरेको पनि सांसद कोइरालाले उल्लेख गरे ।
‘बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको एक जना भाइले नयाँ जुत्ता लगाउनुभयो, तीन सय रुपैयाँ पर्ने । बीपीले सोध्नुभयो— कहाँबाट आयो पैसा ? त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो’ कोइरालाले भने ।
रष्टाचार नियन्त्रण गर्नका लागि बीपीमा जस्तै सहनशीलता र संवेदना हुनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार निर्मूल पार्न कठिन हुने तर, कम गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि नेताहरुबाटै सुरुवात हुनुपर्ने बताए ।
‘करप्सन भनेको हामीले गछौं । अरुलाई किन दोष दिने ? हामीबाट करप्सन कम गरौं’ कोइरालाले भनेका छन्, ‘निर्मूल गर्न त सकिंदैन । करप्सन भनेको, भ्रष्टाचार भनेको एउटा रोग नै हो ।’ तथापि कतिपय देशले भ्रष्टाचार नियन्त्रणमा धेरै सफलता प्राप्त गरेको उल्लेख गर्दै उनले नेपालले पनि भ्रष्टाचार निर्मूल पार्ने प्रयास गर्नुपर्ने धारणा राखे ।
यो समाचार अनलाइनखबरमा प्रकाशित छ।