देवचुली,
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिकाको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि रजत जयन्ती सम्पन्न गरेको हो । रजत जयन्तीको समुद्घाटन देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेलेले ब्यानर पढेर गर्नुभएको थियो । साकोसका अध्यक्ष मानसिंह खत्रीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले मध्य नेपाल साकोसले विगतका बर्षहरु देखि नै समाजमा अतुलनीय योगदान पुर्याएको बताउनुभएको थियो । उहाँले आगामी दिनमा देवचुली नगरपालिका र मध्य नेपाल साकोस सहकार्य गरेर अगाडि बढ्ने बताउँदै २५ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विषेश अतिथीका रुपमा रहनुभएका नवलपुर जिल्ला सहकारी संघका अध्यक्ष तिलक पराजुली, नवलपुर जिल्ला बचत संघका अध्यक्ष होमनाथ जैसी, नवलपुर जिल्ला बचत संघकासहसचिव नारायणप्रसाद पौडेल, साविक परोपकार साकोसका संस्थापक अध्यक्ष देवराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्दै उहाँहरुले मध्य नेपालको मेहेनत र धैर्याताले आज संस्थालाई यहाँसम्म ल्याउन सफल भएको बताउँदै संस्था प्रति थप जिम्मेवारी थपिएको बताउनुभएको थियो ।
रजत जयन्ती समापन कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, जेष्ठ नागरिक, उत्कृष्ठ कर्मचारी, फरक क्षमता भएका शेयर सदस्य, असल ऋणतर्फ उत्कृष्ठ सेवाकेन्द्र, शेयर सदस्य विस्तारमा लक्ष्य प्राप्ती गर्ने सेवाकेन्द्र, उत्कृष्ठ बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ठ उप–समिति सदस्य, उत्कृष्ठ व्यवसायी सदस्य , उत्कृष्ठ ऋणी सदस्य र संस्थामा बिशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ती समापन कार्यक्रममा रजत स्मारिका २०७९ विमोचन गरेको छ । स्मारिकामा संस्थाले हालसम्म गरेका गतिविधि प्रस्तुत गरिएको छ । कार्यक्रममा मध्य नेपाल साकोसका उपाध्यक्ष टि.एम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण साकोसका सचिव कुश्माखर काफ्लेले गर्नुभएको थियो । रजत जयन्ती समापन कार्यक्रममा शेयर सदस्य, विभिन्न सहकारी संस्थाका अध्यक्ष, देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा आगोलागी सचेतना तथा ग्याँस सिलिण्डरबाट हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय कावासोती र शसस्त्र प्रहरी वल कोटीहोमको समन्वयमा शसस्त्र प्रहरीले रोकथाम–नियन्त्रण र सचेतनामुलक प्रस्तुति प्रदर्शन गरेका थिए ।