देवचुली,
देवचुली नगरपालिका वडा नं १६ मा रहेको अमर ईङ्लिस बोडिङ स्कुलको आयोजनामा अमर मेला २०७९ सम्पन्न भएको छ । विज्ञान, कला, संस्कृति र ज्ञान, व्यवहारिक शिक्षा हाम्रो अभियान भन्ने उद्धेश्यका साथ बिहिबार विद्यालयको प्राङ्गढमा मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न खानाका परिकार, हस्तकला, चित्रकला, विज्ञान प्रदर्शनी, व्यापारीक मेला लगायत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफैँले तयार पारेको थारु समुदायको बिशेष खाना चिच्चर, माछा, नेवारी समुदायको विशेष परिकार यमरी, मःम, पकौडा, चटपट, बरगर, लस्सी, सलाद लगायतका थुप्रै परिकारहरु प्रदर्शनी गरि विक्री वितरण गरेका थिए ।
विद्यार्थीहरुलाई पुस्तकको ज्ञान मात्रै नभई व्यवहारिक ज्ञानको पनि महत्व भएकाले यस किसिमको मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पदम बरालले जानकारी दिनुभएको थियो । उहाँले विद्यार्थीहरुलाई पढाईमा मात्रै नभई अन्य अतिरिक्त क्रियाकलापमा समावेश गराउन सके भविष्यमा आउने जस्तो सुकै परिस्थितिलाई पनि सहजै समाना गर्न सक्ने बताउनुभएको थियो ।
अमर ईङ्लिस बोडिङ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्याबसन केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले विद्यालयले आयोजना गरेको महाउत्सव निकै उत्कृष्ट लागेको बताउनुभएको थियो । उहाँले अन्य विद्यालयहरुले पनि विद्यार्थीलाई पढाई सँगै अन्य क्रियाकलापमा समावेश गराउनु पर्ने कुरा अमरबाट सिक्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा आमा समूह बिच बत्ती कात्ने प्रतियोगिता, दुनाटपरी बुन्ने प्रतियोगिता, अभिभावक बिच खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य, गित, नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक अर्जुन कंडेलले गर्नुभएको थियो ।