चितवन,
सरोकारवालाहरूले नेपालमा सुर्तीजन्य पदार्थ अन्य देशको भन्दा सस्तो भएकाले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी’ अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउनुपर्ने बताए।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सके पनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए। दक्षिण एशियामा सबैभन्दा सस्तो सूर्तीजन्य पदार्थ नेपालमा रहेको जानकारी दिँदै उनले मूल्य बढाउनुपर्नेमा जोड दिए। साथै उनले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताए। उनले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिए।
नेपाल चिकित्सक संघका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अनिलबिक्रम कार्कीले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए। उनले २० मिनेट मात्रै धुम्रपान नगर्दा पनि उच्च रक्तचाप, पल्स रेड र शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताए।
आठ घण्टा धुम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने, दुई हप्ता धुम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा. कार्कीले सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणमा जोड दिए। चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सूर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए। सूर्तीजन्य पदार्थ नियमन गर्ने एन बने पनि कार्यान्वयन गर्न जटिल हुनेगरेको बताए। सूर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकाससन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए।
सन् २०२० मा भएका अध्ययन हरुले २२.३ प्रतिशत विश्वका मानिसले सूर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए। नेपालमा सूर्तीजन्य दैनिक २४.१ प्रतिशत मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिए। यस्तै २८.९ प्रतिशत मानिसले सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको एस टिइ पिएस सर्वेले देखाएको उनले बताए।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सूर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको स्वीकारिन्। उनले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधै लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।
साभार ः नारायणी अनलाईनबाट