चितवन, चैत २७-
आगामी शुक्रबार नेपाली नयाँ वर्ष भएकोले चितवनको पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरु भइसकेको छ ।नयाँ वर्षमा घुमघामका लागि चितवनका होटल बुकिङ हुन थालेका छन् ।
चितवनको सौराहा र मेघौलीमा ८० प्रतिशत होटल बुकिङ भइसकेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार सौराहामा केही दिनअघिबाटै बुकिङ सुरू भएको हो । सौराहाका विभिन्न होटलमा नयाँ वर्षकै लागि भनेर २० देखि ३० प्रतिशतसम्म छुट व्यवस्था छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको उनले बताए ।
‘कोभिडपछि यसपाली सौराहामा आन्तरिकसँगै विदेशी पर्यटक पनि बढेका छन्,’ गिरीले भने, ’नयाँ वर्षको दुई दिन सौराहा भरिभराउ हुने देखिएको छ ।’ नयाँ वर्षमा सौराहामा होटल व्यवसायीहरुले नयाँ वर्ष विशेष कार्यक्रम पनि गर्दे छन् । होटल संघका अध्यक्ष गिरीले बिहीबार राति १२ बजेसम्म नयाँ वर्षको स्वागत गर्दै सौराहाका सडकमा सांस्कृतिक झाँकीले भरिभराउ हुनेछन् । सौराहाको सपना चोकदेखि बगरको ड्यामसम्म थारु, मगर,बोटेलगायत विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन गरिँदै छ ।
होटल व्यवसायीहरुको अनुसार सौराहा घुम्न यो उपयुक्त सिजन हो । जाडो महिनाको अन्त्य र गर्मी महिनाको सुरूवातसँगै घुम्न सौराहा उपयुक्त मानिन्छ । यहाँको मुख्य आकर्षण जंगल सफारी हो । प्रकृतिसँग रमाउँदै, जनावर हेर्दै जंगल सफारी गर्न पाइने भएकाले सौराहाले पर्यटक आकर्षित गर्दै आइरहेको छ ।
मेघौलीको होटल बराहीका अनुसार बराहीमा ९५ प्रतिशत बढी कोठाहरु नयाँ वर्षको लागि बुकिङ भइसकेको छ । रिजर्भेसन अफिसर निकेस महर्जनका अनुसार होटलमा रहेका ३५ कोठामध्ये अब दुईवटा मात्र बुकिङ हुन बाँकी छन् ।
होटल मिराज सौराहाका प्रबन्धक अमृत पौडेलले नयाँ वर्ष र भ्यालेन्टाइन डेमा सौराहाका होटलहरु प्याक हुने गरेको नारायणी अनलाइनलाई बताए । उनले नेपालीहरुको घुम्ने प्रचलन बढेँसँगै सौराहामा पर्यटकहरु ब्ढ्न थालेको बताए । उनले भने, ‘सौराहाका होटलहरु भरिने भनेको नै भ्यालेन्टाइन डे र नयाँ वर्षमा नै हो ।’
साभार ः नारायणी अनलाइनबाट