देवचुली,
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढिले सेवा लिएका छन् । शुक्रबार संस्थाको रजत बर्षको अवसरमा कावासोती १३ कुश्नहरिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जसमा १ सय १० जनाले सेवा लिएका छन् ।
पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । पिठौली आधारभूत विद्यालयमा आयोजित शिविरमा डा. सन्तोष पन्त, डा. बिरेन्द्रकुमार शाह, डा.अञ्जली श्रेष्ठ, डा. नारायणी महतो, डा. रबिन दाहाल, डा.किलन गैरे, डा.आयषा श्रेष्ठ, डा.रञ्जिता फुयाल र डा. रोशन क्षेत्रीले चेकजाँच गरेका थिए । शिविरमा नाक, कान तथा घाँटी रोग, स्त्री रोग, छाला रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोगको परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव कुश्माखर काफ्लेको अध्यक्षता रहेको थियो भने कावासोती नगरपालिका वडा नं १३ का वडाध्यक्ष लालबहादुर गुरुङ्कोप्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले साकोसले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रम निकै फलदायी रहेको बताउनुभएको थियो । स्वास्थ्य शिविरको औपचारिक कार्यक्रम संस्थाका विभागीय प्रमुख उमापति भट्टराईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पिठौली आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद लामिछाने, कुश्नहरि सेवाकेन्द्र संयोजक मिना चौधरी लगायतको उपस्थिति रहेको थियो ।