देवचुली,
नवलपुरको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ । होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट देखि पुरानो आईल्याण्ड क्पाम्प सम्मको नयाँ पर्यटन मार्गमा चल्ने जिप सफारीको समुद्घाटन गरिएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले जिप सफारीको समुद्घाटन गर्नुभएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुरको देवचुलीमा पहिलो पटक पिप्रहरबाट निकुञ्जमा जंगल सफारीको सुरुवात गरिएको हो । जंगल सफारीको समुद्घाटन गर्दै प्रमुख अतिथी रहनुभएका नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाको पर्यटन प्रवर्द्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो। उहाँले पछिल्लो समय जंगल सफारीका लागि पर्यटकको मोह बढ्दो रहेकाले पनि देवचुलीमा जंगल सफारी सञ्चालन गर्नु सकारात्मक कार्य भएको र वन्यजन्तुको माध्यमबाट देवचुलीमा थुप्रै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने बताउनुभएको थियो ।
जंगल सफारी समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले निकुञ्जको संरक्षणसँगै प्रवर्द्धनमा लाग्नसके यहाँका आम उपभोक्ताको जिविकोपार्जनमा पनि थप टेवा पुर्याउने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले निकुञ्ज क्षेत्रमा जंगल सफारी अगाडि बढाउनका निम्ति विगतका दिनहरु देखि गरेको मेहेनतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले पर्यटनको विकासका लागि सम्पूर्णको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।
जिप सफारीको समुद्घाटनमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे, नेपाल सरकारका उप–सचिव विष्णु प्रसाद भुसाल, नवलपुर होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीका अध्यक्ष पलट प्रसाद चौधरीको अध्यक्षता रहेको थियो ।
पर्यटन मार्ग समितिका संयोजक सन्तोष धितालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण रिमबहादुर आलेले गर्नुभएको थियो । कार्यक्रममा पर्यटन र संरक्षणमा आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार रिमबहादुर आलेले गर्नुभएको थियो।