देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को बौलाहा खोला किनारमा निर्माण हुने भनिएको ‘वनस्पति उद्यान’ को विषयमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । बौलाहा खोला किनारको करिब ७ विगाहा क्षेत्रफलमा फैलिएको उक्त वनस्पति उद्यानमा पार्क, खेलकुद ग्राम, संग्राहलय, जडिबुटिका बोट, मन्दिर लगायत स्विमिङ्ग पुल निर्माण गर्ने विषयमा छलफल भएको हो ।
छलफल कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने, पूर्व नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, नगर प्रमुखका प्रत्यासी अशोक बस्ताकोटी, देवचुली १३ का पूर्व वडाध्यक्ष डिल बहादुर खत्री, नेपाल सरकारका उप–सचिव विष्णु प्रसाद भुसाल, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठक, देवचुली नगरपालिकाका नगरप्रवक्ता तिल प्रसाद काफ्ले, देवचुली वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, विधान मस्यौदा समितिको संयोजक नारायण प्रसाद पौडेल लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, विभिन्न राजनैतिक दलका व्यक्ति, स्थानीय बुद्धिजिविहरुको उपस्थितिमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले वनस्पति उद्यानको मोडललाई कसरी अगाडि बढाउने, उक्त मोडल भित्र के–के राख्ने भन्ने विषयमा पहिला डिपिआर तयार गर्नुपर्ने र योजनालाई तत्काल अगाडि बढाउनु पर्ने बताउनुभएको थियो ।
छलफलमा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा।मित्र पाठकले बौलाहा खोला किनारमा निर्माण गर्न लागिएको वनस्पति उद्यान यहाँको दिगो आम्दानीको स्रोत बन्न सक्ने बताउँदै वातावरणको हिसावले पनि यस क्षेत्रमा वनस्पति उद्यानले सफलता हासिल गर्न सक्ने बताउनुभएको थियो । दुर्लभ भएका बोटबिरुवा संरक्षण, भविष्यका पिँढिलाई वैज्ञानिक शिक्षा प्रदान, अध्ययन अनुसन्धान र रिप्रेसमेन्ट जस्तो मुख्य उद्धेश्यका साथ वनस्पति उद्यानको निर्माण गर्न सकिने पाठकले बताउनुभयो । वनस्पति उद्यानको डिपिआर तयार गरिसकेको र विभिन्न ठाउँमा बजेटको लागि पेश गरिसकिएकोले यस कामलाई नगरपालिकाले अपनत्व लिएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
देवचुली १३ मा वनस्पति निर्माण गर्नका लागि देवचुली नगरपालिकाले अपनत्व लिएर तत्काल नै काम अगाडि बढाउनुपर्ने वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो । उहाँले नगरपालिकाले लगाएको गेबिन माथि आँठो लगाएर खेती गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको थियो ।
छलफल कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले यस क्षेत्रमा वनस्पति उद्यान निर्माण गर्ने योजना देवचुली नगरपालिकाको लागि गर्वको विषय भएको बताउनुभएको थियो । उहाँले जमिन संरक्षण गरि यहाँ सम्म ल्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले उद्यान निर्माणका लागि नगरपालिकाले अपनत्व लिएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
देवचुली नगरपालिका वडा नं १३ को बौलाहा खोला किनारको सिमाना देखि ६० मिटर क्रसर देखि चुवाडीसम्म स्थानीय बासिन्दाको सहमतिमा वनस्पति उद्यान निर्माण कार्य शुरु गरिएको हो । यस क्षेत्रको पर्यापर्यटनलाई थप आकर्षण बनाउने साथै स्थानीय वासिन्दालाई रोजगार सिर्जना गराउने मुख्य उद्धेश्यका साथ वनस्पति उद्यान निर्माण शुरु गरिएको हो । हाल नेपाल सरकार सिँचाई कार्यालयको सहयोगमा ५० लाख बजेट आएसँगै उद्यानको छेउछाउमा बाँध लगाउने काम भइरहेको छ । वनस्पति उद्यान निर्माण पश्चात् यस क्षेत्रका नागरिक मात्रै नभई अन्य स्थानबाट आउने पर्यटकको अवलोकनका लागि पनि उपयुक्त स्थान रहने अपेक्षा लिएको छ ।