देवचुली,
देवचुली नगरपालिकाको वडा नं ६, ७, ८, ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार देवचुली नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९–०८० को विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, वडा नं ६, ७, ८, ९ का वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो ।
चालु आर्थिक बर्षको दुईवटा चौमासिक सकिए सँगै नगरपालिकाले हालसम्म गरेका प्रगति विवरणबारे देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी गराउनुभएको थियो । उहाँले चालु आर्थिक बर्ष २०७९–०८० को निति कार्यक्रम तथा बजेटका लागि ८० करोड विनियोजन गरेकोमा दुई चौमासिक आइपुग्दा सम्म ४७ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुलाई आफ्नो जिज्ञासा राख्नको लागि खुल्ला गरिएको थियो । कार्यक्रममा बोल्दै धारा डी खानेपानीका अध्यक्ष जयराम श्रेष्ठले स्वच्छ पिउने पानीको सहजताका लागी आवश्यक पहल गर्दै नगरपालिकाले दिने सेवाहरु चुस्तदुरुस्त बनाउन आग्रह गर्नुभएको थियो भने घुमाउरि सामुदायिक बनका अध्यक्ष दिपक भट्टराईले बन्यजन्तु र मानव बिचको द्वन्द तत्काल समाधान गर्न आग्रह गर्नुभएको थियो ।
यस्तै उपस्थित स्थानीयहरुले योजनाका कार्यले गति नलिँदा खानेपानीमा समस्या, चौपायाको व्यवस्था गर्नुपर्ने, खेलग्राम निर्माण, बाटोघाटो व्यवस्थापन, विद्युत, कृषिमा आवश्यक अनुदान दिनुपर्ने, सभाहलको खाँचो, लगायतका विभिन्न विषयमा माग र स्थानीय सरकारको ध्यानकर्षण रहनुपर्ने बताएका थिए ।
वडावासीको माग र जिज्ञासालाई नगरउपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशसकीय अधिकृत मोहन प्रसाद मरासिनी र नगरप्रमुख हरिप्रसाद न्यौपानेले सम्बोधन गर्नुभएको थियो । स्थानीयको माग र जिज्ञासालाई सम्बोधन गर्दै वडावासीको हितमा रहेर काम गर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।