नवलपुर,
नवलपुरमा पहिलो पटक थियटरमा नाटक मञ्चन भइरहेको एक चिहान नाटकको मञ्चन सकिएको छ। साहित्यकार ह्दयचन्द्र सिंह प्रधानको एक चिहान नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो ।

१०३.८ ह्याप्पी एफ.एमको आयोजना र पोखरा थियटरको सहकार्यमा नवलपुरको कावासोतीमा रहेको पुन हल थियटरमा मञ्चन भएको थियो। गत १६ गते देखि सुरु भएको नाटक मञ्चनमा दुई दर्जन भन्दा बढी संस्थागत र सामुदायिक विद्यालयका गरी करिब २ हजार ५ सय विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

विभिन्न विद्यालयबाट नाटक हेर्न आएका विद्यार्थी तथा शिक्षकहरूले नाटक सन्देशमूलक रहेको बताएका थिए । उनीहरूले नाटक हेरे पश्चात् जतिसुकै पछाडि परे पनि अघि सर्न कहिल्यै डराउन नहुने , जतिसुकै कुरा गुमाए पनि आफ्नो आत्मबल गुमाउन नहुने र संसार जति नै पापी भए पनि आफूले धर्म र पवित्रताको बाटो छोड्न नहुने जस्ता कुराको बारेमा उत्प्रेरणा मिलेको बताएका थिए।

कार्यक्रमको अन्तिम दिन समापनको क्रममा बोल्दै नाटक संयोजक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले नवलपुरमा पहिलो पटक थियटर नै बनाएर नाटक मञ्चन गर्नु सजिलो काम नभएता पनि नवलपुरको नाट्य क्षेत्रमा यो मञ्चनले छुट्टै स्वाद दिएकोमा आफू विश्वस्त रहेको बताउनुभएको थियो।

उहाँले जिल्लाको सदरमुकाम कावासोतीमा थियटर बनाई नाटक मञ्चन गर्दा विभिन्न तहबाट अपेक्षा गरे अनुरूप साथ र सहयोग प्राप्त गरेकोले सबै सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन ह्याप्पी एफ.एमका स्टेसन म्यानेजर आदर्श सुशीलले गर्नुभएको थियो ।

आज शुक्रबार अन्तिम दिनको कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यता सँगै पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको विशेष आतिथ्यता सँगै विभिन्न शैक्षिक व्यक्तित्वको सहभागिता रहेको थियो।

आजको नाटक मञ्चनमा कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुल , नमुना मावि गैंडाकोट र बालविकास बोर्डिङ स्कुल गैँडाकोटका विद्यार्थीहरूको सहभागिता रहेको थियो।