नवलपुर,
नवलपुरमा पहिलो पटक थियटरमा नाटक मञ्चन भइरहेको छ । साहित्यकार ह्दयचन्द्र सिंह प्रधानको एक चिहान नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो । १०३.८ ह्याप्पी एफ.एमको आयोजना र पोखरा थियटरको सहकार्यमा नवलपुरको कावासोतीमा रहेको पुन हल थियटरमा मञ्चन भइरहेको छ ।
आज बिहिबार तेस्रो दिन ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता तीन सो मञ्चन गरिएको छ । आजको कार्यक्रममा विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगर ,कालिका माध्यमिक विद्यालय बिशालटार , न्यु नवल इन्ग्लिश स्कुल प्रगतिनगर , रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय पितौजी , नवलपुर एकेडेमी डण्डा , मुकुन्दसेन बोर्डिङ्ग भेडाबारी ,नोबेल एकेडेमी कावासोती , शिव नमुना माध्यमिक विद्यालय कावासोतीका गरि करिब ६ सय भन्दा बढि विद्यार्थीहरुले एक चिहान नाटक हेरेका थिए ।
नाटक हेर्न उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले नाटक सन्देशमुलक रहेको बताएका थिए ।कार्यक्रमको विषयमा नाटक संयोजक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले नवलपुरमा पहिलो पटक थियटर नै बनाएर नाटक मञ्चन गर्नु सजिलो काम नभएको तर यसले नवलपुरको नाट्य क्षेत्रमा छुट्टै स्वाद दिन खोजेको बताउनुभएको थियो ।
उहाँले जिल्लाको सदरमुकाम कावासोतीमा थियटर बनाएर नाटक मञ्चन गर्दा विभिन्न तहबाट साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रमको संचालन ह्याप्पी एफ।एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।
आज बिहिबार प्रमुख अतिथिको रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने संगै नवलपुरका निवर्तमान सांसद बिष्णु लामिछाने , देवचुलीका बाल परामर्शदाता खिमानन्द भुसाल , नगर प्रवक्ता तिल प्रसाद काफ्ले , प्याब्सन देवचुली निवर्तमान अध्यक्ष ढाकाराम भट्टराई , प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले ह्याप्पी एफ.एमले गरेको यो प्रयास एकदम उत्कृष्ट रहेको भन्दै आगामी दिनमा देवचुली नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई प्रवर्द्धन गर्ने बताउनुभएको थियो।
पोखरा थियटरका कलाकारहरुको प्रस्तुतीलाई उपस्थित सम्पूर्णले खुलेर प्रशंसा गरेका थिए । नाटक फाल्गुन १८ गते सम्म चल्नेछ ।