देवचुली,
देवचुली १७ फार्ममा रहेको जनउत्थान दुग्ध उत्पादन सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार बरचुली माध्यमिक विद्यालयको भवनमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको समुद्घाटन नगरप्रमुख न्यौपानेले पानसमा बत्ती बालेर साथै ब्यानर पढेर गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हरि कुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष दैनिक ३५ सय दुध संकलन भएको संस्थामा अहिले दैनिक १५ सय मात्रै दुध संकलन भएको बताउनुभएको थियो । उहाँले यस कठिन परिस्थतिमा दुग्ध उत्पादक किसानलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सबै पक्षको ध्यान पुग्न आवश्यक रहेको बताउँदै संस्था सधैं किसानको पक्षमा रहेर अघि बढेको बताउनुभएको थियो ।
यसैगरि संस्थाका सचिव गोकुल घिमिरे, कोषाध्यक्ष शालिकराम , आन्तरिक लेखा परिक्षक हरि प्रसाद अधिकारीले लगायतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्लो समय कृषि क्षेत्र निकै धराशायी बन्दै गएको बताउँदै कृषिलाई उकास्न नगरपालिकाले साइलेन्ट प्लान्टको स्थापना गर्न लागेको बताउनुभएको थियो । उहाँले सरकारले ध्यान नदिँदा पनि कृषि क्षेत्रबाट किसान पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । अब नगरपालिकाले बाझो रहेको जमिनलाई खाली नराख्नको निम्ति योजना बनाउने साथै नगरको स्रोत साधनले भ्याए जति सहयोग गर्ने बताउनुभएको छ ।
कार्यक्रममा संस्थाको शेयर सदस्य ज्येष्ठ नागरिक कृषक दुई जना, उत्कृष्ट दुध खरिद गरेका एकजना, नियमित बचतकर्ता एकजना, निति नियम भित्र रहेर उत्कृष्ठ ऋणी कृषक एकजना, गोठ व्यवस्थापन कृषक एकजना, अनुशासित कृषक सदस्य एकजना, उत्कृष्ठ सरसफाई कृषक एकजना, अपाङ्गता कृषक एकजना, एकल महिला कृषक एकजना, जनजाति कृषक एकजना, दलित कृषक एकजना, गुणस्तरीय दुध मेसिनले मापन गरेका दुईजना कृषक, वार्षिक रुपमा उत्कृष्ठ दुध बिक्रीवितरण गर्ने १० जनालाई करुवा, कदर पत्र र खादाले सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत कृषक टिकाराम खरेलले छोडुवा गाईबस्तु र गैंडा नियन्त्रण नहुँदा पशुपालनबाट पलायन हुनुपर्ने अवस्था आएका बताउँदै सम्बन्धित निकायले यसको नियन्त्रणमा ध्यान दिन आग्रह गरेका थिए । उनले दिनरात महेनत गर्ने किसानका लागि पनि संस्थाले परामर्शा कार्यक्रम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चेन्द्र प्रसाद तिवारी, वडा नं १७ का पूर्व वडाध्यक्ष विष्णुप्रसाद आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष लक्ष्मी ढकाल घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बासुदेव शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता जनउत्थान दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष हरि कुमार श्रेष्ठले गर्नुभएको थियो । दुग्ध सहकारीमा ५ सय ६० जना कृषक आवद्ध रहेका छन् ।