३५ भन्दा बढी निकायले एकसाथ सेवा दिने ठाउँ हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । सन् २०२२ मा मात्रै ४४ लाख ६६ हजार जनाले प्रयोग गरेको यो विमानस्थलमा भीडभाडसँगै गोलमाल झन् बढ्दैछ ।
सुशासनको मामिला कमजोर हुँदा उडानसम्बद्ध निकाय अध्यागमन, भन्सार तथा प्रहरीका इकाइ विवाद र अनियमिततामा मुछिने क्रम बढेको छ । अहिले त विमानस्थल प्रशासनको नेतृत्वकर्ताहरु नै अनियमित कार्यमा संलग्न भएको घटना बाहिरिएका छन् ।
९ माघमा त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्राउ गर्यो । टर्मिनलसम्म आवातजावत गर्न पाइने पासका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचनाको आधारमा अख्तियारले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।
अख्तियारको टोलीले खानतलासी गर्दा चुडालको कार्यकक्षको स्टिलको दराजमा स्रोत नखुलेको नगद आठ लाख रुपैयाँ भेटिएको थियो । त्योसँगै विदेशी ब्राण्डका महँगो रक्सी र मोबाइल सेट बरामद भएको थियो । त्यसको १७ दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पनि घुस प्रकरणमा निलम्बित भए । थाइ स्माइल एयरवेजका इन्जिनियरसँग विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि घुस मागेको अडियो टेप भेटिएपछि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको थियो ।
अडियो सम्वादमा कुन प्रयोजनका लागि रकमको कुरा भएको खुल्दैन । पैसा दिन समस्या रहेको कम्पनीका प्रतिनिधिले बताएपछि ठाकुरले थाइ स्माइल एयरवेजका जनरल सेल्स एजेन्ट (जिएसए) रवि सिंहसँगै कुरा भइसकेको बताउँछन् ।
कम्पनीका प्रतिनिधि पैसा निकाल्न इन्भोइस (बिल) चाहिने बताउँदा ठाकुरले फेस्टिभल आयोजना गर्न सकिने र वेल्फेयर फन्ड (कल्याणकारी कोष) बाट पनि व्यवस्थापन हुनसक्ने विकल्प सुझाएको अडियोमा सुनिन्छ । उनले भनेका छन्, ‘धेरै दबाव छ, रविसँग कुरा गर्नुस्, अनि फाइनल गरौंला ।’
ठाकुरले बक्यौता असुलीका लागि कुरा गरेको दाबी गरेपनि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
त्रिभुवन विमानस्थलले विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाहरुबाट करिब २ अर्ब रुपैयाँ राजस्व बक्यौता उठाउन बाँकी छ । एयर एशियासहितका थुप्रै वायुसेवा कम्पनीबाट बक्यौता उठाउन खासै चासो नदिएको आरोप विमानस्थल प्रशासनमाथि लाग्दै आएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यसै हप्ता गरेको विमानस्थलभित्र सञ्चालित पसलहरुको अनुगमनबाट पनि अनियमिततामा विमानस्थल प्रशासनको संलग्नता पुष्टि भएको छ ।
४ फागुनको अनुगमनबाट विमानस्थलभित्रका ९ वटा पसल कारबाहीमा परेका छन् । ती पसलहरुले यात्रुसँग अधिकतम खुद्रा मूल्यभन्दा तीन गुणा बढी असुल्ने गरेको उपभोक्ता हित संरक्षण विभागले पाएको थियो । विमानस्थलभित्रको क्याफेले एक प्लेट मःमको ८५० रुपैयाँ र १०० ग्राम पेस्ताको ७०० रुपैयाँसम्म असुल्ने गरेका छन् ।
विभागका अनुसार ती पसलहरुलाई कसुरका आधारमा २ लाखदेखि ३ तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ । विभागका महानिर्देशक महेश भट्टराईका अनुसार ९ वटा पसलबाट १५ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।
वर्षौंदेखि विमानस्थलभित्रका पसलले मच्चाइरहेको लुटबारे विमानस्थल प्रशासन बेखबर थिएन । यात्रुले गुनासो गर्दा पनि विमानस्थल प्रशासनले यस्तो ठगीलाई संरक्षण दिंदै आएको थियो । विमानस्थल प्रशासनको सुशासनमा विचलन आउँदा दैनिक हजारौं यात्रुले पीडित बन्नपरेको छ ।
काठमाडौं विमानस्थलमा ‘आईएमएस एयरपोर्ट सर्भिस’ नामक कम्पनीको पनि दादागिरी रहेको पर्यटनमन्त्री किरातीले दिएको निर्देशन कार्यान्वयन नभएबाट पुष्टि हुन्छ । उनले एक महिनाकै बीचमा दुई पटकसम्म विमानस्थल निरीक्षण गरेर ट्राभलेटर (विद्युतीय भर्याङ) लाई यात्रु नलड्ने बनाउन निर्देशन दिइसके । तर, आईएमएसको प्रभावमा रहेको विमानस्थल प्रशासनले मन्त्रीको निर्देशन नसुने झैं गरिरहेको छ ।
कर्मचारी रिझाएको आईएमएसले विमानस्थलमा आफन्त वा साथी लिन पुगेकालाई प्रतिक्षालयमा बस्दा १०० रुपैयाँसम्म शुल्क उठाइरहेको छ । सार्वजनिक स्थलमा गरिएको यस्तो लुटमा विमानस्थल प्रशासन मौन छ । आईएमएसले सम्झौता विपरीत भवनसहितका संरचना बनाउँदा चुप बसेको विमानस्थल प्रशासन महँगो पार्किङ शुल्कबाट पीडित यात्रुलाई राहत दिने पक्षमा पनि देखिएको छैन ।
अनलाइनखबरबाट