कावासोती,
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो ।
अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् । तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए ।
उनका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको उनले बताए।
सेवा सूचीकरणका लागि पाँच डायलायसिस उपकरण आवश्यक पर्छ । तर थप एक उपकरण खरिदका लागि स्रोत सुनिश्चितता नहँुदा अस्पताल सूचीकरणसमेत हुन नसक्ने अवस्थामा रहेको डा कँडेलले बताए । हालको अवस्थामा सेवालाई दुई सिफ्टमा सञ्चालन गरेर १८ जनासम्मको डायलायसिस गर्न सकिने भए पनि जनशक्ति र खर्चको व्यवस्थापन नहँुदा नौ जनाभन्दा धेरैलाई सेवा दिन नसकिएको उनले जानकारी दिए ।
अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ ।यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ ।
मेडिकल सुपरिटेण्डेन्ट डा कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ । पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहसँग सहयोग मागेको र कावासोती नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ भने मध्यविन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको मेडिकल सुपरिटेण्डेन्ट कँडेलले जानकारी दिए ।
उनका अनुसार जिल्लामा एक सय जनाको आसपास डायलसिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उनले माग गरे । (रासस) ।