देवचुली,
सामुदायिक प्राकृतिक चिकित्सालयले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। नवलपुरको रजहरमा रहेको चिकित्सालयले गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न गरेको हो। शनिबार चिकित्सालय परिसरमा आयोजित साधारणसभामा चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी जिसीले सामुदायिक प्राकृतिक चिकित्सालय आफ्नै गृह नगरमा रहेकाले पनि आँफूलाई बढी अपनत्व रहेको बताउनुभयो। जिसीले भन्नुभयो- "मेरो सेवा निवृत्त समयका लागि चिकित्सालय महत्त्वपूर्ण रहेको छ, दूरीका हिसाबले पनि मेरो घर नजिकै छ, त्यसैले चिकित्सालयबाट बढी लाभ लिन सक्ने ब्यक्तीमा म पर्छु"। आँफू पदमा रहँदा या नरहँदा पनि सधैं प्राकृतिक चिकित्सालयको उन्नतीका लागि काम गरेको उहाँले बताउनुभयो। चिकित्सालयलाई प्राकृतिक शिक्षण अस्पताल बनाउन पहल गर्ने समेत गण्डकी प्रदेश सभा सदस्य जिसीले बताउनुभयो। सो अवसरमा उहाँले वि.सं २०६४ सालमा धनधान्याञ्चल एवं अन्य समयमा सहयोग गरि निर्माण गरिएको विश्राम स्थलमा राखिएको दाताहरुको नाम अंकित शिलालेखको समेत उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नेत्रबहादुर पाण्डे, सचिव प्रदीपराज घिमिरे तथा निर्माण समितिका संयोजक तिलप्रसाद पाठकले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
चिकित्सालयका प्रधान संरक्षकका छोरा शिव शर्मा आचार्य, देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपचारार्थी अनिता शर्मा, देवचुली कलेज प्रमुख शिवहरी अधिकारी, पूर्व अध्यक्ष हेमराज कोइराला, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला समन्वय समिती नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्दै चिकित्सालयले कोभिडको समय तथा अन्य समयमा बिरामीको सेवामा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थिए। सो अवसरमा सामुदायिक प्राकृतिक चिकित्सालयमा आवद्ध विभिन्न ब्यक्तीलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष सन्तबहादुर क्षेत्रीले निकट भविष्य मै आवास र पूर्ण सेवा सहितको तीन सय शैयाको अस्पतालका रुपमा सामुदायिक प्राकृतिक चिकित्सालयको विकास गर्ने बताउनुभयो। उहाँले प्राकृतिक चिकित्सा शिक्षण अस्पताल सञ्चालन गरि जनशक्ती उत्पादन गर्ने, योग र प्राकृतिक चिकित्सा पद्धतिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने, हरेक आम मानिसको जीवन शैली सुधारमा भूमिका खेल्ने र तिनै तहका सरकारसँग समन्वय गरि नि:शुल्क स्वास्थ्य बिमालाई लागू गर्न पहल गर्ने बताउनुभयो।
सामुदायिक प्राकृतिक चिकित्सालयका उपाध्यक्ष पेउनारायण न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रदीपराज घिमिरेले गर्नुभएको थियो।