देवचुली,
गत माघ १७ गते देखि सुरु भएको तेस्रो देवचुली मेयरकप फुटबल प्रतियोगिताको पाँचौ दिनको दुई खेल शनिबार सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति देवचुली र जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह–आयोजनामा सुरु भएको मेयरकप नकआउट फुटबल प्रतियोगिता निरन्तर जारी रहेको छ । पाँचौ दिनको पहिलो खेल देवचुली वडा नं २ र वडा नं १५ बिच भएको थियो ।
उक्त खेलमा देवचुली वडा नं १५ ले वडा नं २ लाई ३–१ ले स्तब्ध पार्दै नतिजा आफ्नो पोल्टोमा पारेर जित हासिल गरेको छ । देवचुली वडा नं १५ का जर्सी नं १५ का सुशान्त आलेले दुई गोल गरेका थिए भने वडा नं १५ का जर्सी नं १६ का अशोक तमाङले १ गोल गरि समूलाई जिताएका थिए । वडा नं २ ले भने आत्मघाती १ गोल गरेको थियो । उक्त प्रतियोगितामा वडा नं १५ का जर्सी नं १५ का खेलाडी सुशान्त आले म्यान अफ द म्याच हुन सफल भएका छन् ।
यसैगरि पाचौँ दिनको दोस्रो खेल देवचुली वडा नं १० र वडा नं १६ ए विच प्रतिस्पर्धा भएको थियो । जसमा देवचुली १० ले वडा नं १६ ए लाई ६–५ ले स्तब्ध पार्दै जित आफ्नो पक्षमा पारेको छ । खेलको समय अवधिसम्म बराबरी भएपछि पेनाल्टी सुटमा पुगेको थियो । पेनाल्टी सुटमा देवचुली वडा नं १० का जर्सी नं ९ का राजन पाठकले ६ गोल गरेका थिए भने वडा नं १६ ए का जर्सी नं ४ का अनुप पाठकले ५ गोल गरेका थिए । उक्त खेलमा वडा नं १० बाट जर्सी नं ९ का राजन पाठक म्यान अफ दि म्याच भएका छन् ।
पाचौं दिनको मेयरकप नकाअउट फुटबल प्रतियोगितामा देवचुली वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा, १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती, १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, वडा सदस्य, जिल्ला समन्वय समिति नवलपुरका सदस्य, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य दवाडी, संस्थापक अध्यक्ष धर्मराज बस्याल, रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गंगाबहादुर थापा, धुसेरी सामुदायिक वनका अध्यक्ष नारायण पंगेनी, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समिति देवचुलीका अध्यक्ष सुभाष ओझाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमललाई ८१ हजार र द्धितीय हुने टिमलाई ४१ हजार प्रमाणपत्र, मेडल र ट्रफी साथै सेमिफाइनलमा पुग्ने दुई टिमलाई ५ हजार ५ सय पुरस्कार उपलब्ध गराउने ओझाले बताउनुभयो । खेललाई सफल बनाउन सम्पूर्ण नगरबासीलाई खेल स्थलमा नै आएर सहयोग गर्न जनकल्याण समिति सामाजिक विकास केन्द्र फिर्केका अध्यक्ष गिरीराज गौतमले बताउनुभएको छ । खेल देवचुली १६ रजहरमा रहेको देवचुली मा.विको खुल्लामैदानमा भइरहेको छ । प्रतियोगिता आगामी माघ २८ गतेसम्म चल्ने नगर खेलकुद विकास समिति देवचुलीका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो ।