देवचुली,
गत माघ १७ गते देखि सुरु भएको तेस्रो देवचुली मेयरकप फुटबल प्रतियोगिताको चौथो दिनको दुई खेल शुक्रबार सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति देवचुली र जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह–आयोजनामा सुरु भएको मेयरकप नकआउट फुटबल प्रतियोगिता निरन्तर जारी रहेको छ ।
चौथो दिनको पहिलो खेल देवचुली वडा नं १३ र वडा नं १४ बिच भएको थियो । उक्त खेलमा देवचुली वडा नं १४ ले वडा नं १३ लाई २–१ ले स्तब्ध पार्दै नतिजा आफ्नो पोल्टोमा पारेर जित हासिल गरेको छ । देवचुली वडा नं १४ का जर्सी नं १२ का खेलाडी अर्जुन थापाले पहिलो गोल गरि खेललाई अगाडि बढाएका थिए भने १४ बाटै जर्सी नं ३ का खेलाडी अनुराग श्रेष्ठले दोस्रो गोल गरि समूहलाई जिताएका थिए । वडा नं १३ ले भने आत्मघाती १ गोल गरेको थियो । उक्त प्रतियोगितामा वडा नं १३ का जर्सी नं १२ का खेलाडी चेतन मगर म्यान अफ द म्याच हुन सफल भएका छन् ।
यसैगरि चौथो दिनको दोस्रो खेल देवचुली वडा नं १ र वडा नं ७ विच प्रतिस्पर्धा भएको थियो । जसमा देवचुली १ ले वडा नं ७ लाई २–१ ले स्तब्ध पार्दै जित आफ्नो पक्षमा पारेको छ । देवचुली वडा नं ७ का जर्सी नं २ का प्रकाश क्षेत्रीले पहिलो १ गोल गरेसँगै खेल अगाडि बढेको थियो । त्यसको केही समयमा नै वडा नं १ बाट जर्सी नं ६ का विकी शर्मा र जर्सी नं ९ का नविन बोटेले गरेको दुई गोल नै १ का लागि निर्णायक गोल बनेको थियो । उक्त खेलमा वडा नं १ बाट जर्सी नं ८ का रोशन गुरौँ म्यान अफ दि म्याच भएका छन् ।
खेल सम्पन्न पछि देवचुली वडा नं १३ ले वडा नं १४ लाई वडा भन्दा बाहिरको खेलाडी खेलाएको भन्दै बिरोध जनाएको छ ।
चौथो दिनको मेयरकप नकाअउट फुटबल प्रतियोगितामा देवचुली वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री (राम), वडा नं १४ का वडाध्यक्ष गोपाल थापा, कार्यपालिका सदस्य पार्वता कंडेल, विभिन्न वडाका वडासदस्य, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समिति देवचुलीका अध्यक्ष सुभाष ओझाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमललाई ८१ हजार र द्धितीय हुने टिमलाई ४१ हजार प्रमाणपत्र, मेडल र ट्रफी साथै सेमिफाइनलमा पुग्ने दुई टिमलाई ५ हजार ५ सय पुरस्कार उपलब्ध गराउने ओझाले बताउनुभयो ।
खेललाई सफल बनाउन सम्पूर्ण नगरबासीलाई खेल स्थलमा नै आएर सहयोग गर्न जनकल्याण समिति सामाजिक विकास केन्द्र फिर्केका अध्यक्ष गिरीराज गौतमले बताउनुभएको छ । यसैगरि शनिबार पनि दुई खेल हुने भएको छ । दिउँसो १ बजे हुने पहिलो खेलमा वडा नं २ ले वडा नं १५ को सामना गर्नेछ भने दिउँसो ३ बजे हुने दोस्रो खेलमा वडा नं १६ बि र १० आमनेसामने हुने नगर खेलकुद विकास समिति देवचुलीका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो । खेल देवचुली १६ रजहरमा रहेको देवचुली मा.विको खुल्लामैदानमा भइरहेको छ । प्रतियोगिता आगामी माघ २८ गतेसम्म चल्नेछ ।