देवचुली,
मंगलबार देखि सुरु भएको तेस्रो देवचुली मेयरकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ । दोस्रो दिनको पहिलो खेलमा वडा नं ८ र वडा नं ११ बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा देवचुली वडा नं ११ ले वडा नं ८ लाई ३–१ ले स्तब्ध पार्दै नतिजा आफ्नो पोल्टोमा पारेको छ । देवचुली वडा नं ८ का कुमार मगरले पहिलो गोल गरि खेललाई अगाडि बढाएका थिए तर त्यसको केही समयमा नै वडा नं ११ का तिलक पुलामी मगरले गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो ।
यस्तै वडा नं ११ का खेलाडी जर्सी नं ११ का सन्दीप मगर र जर्सी नं ७ का समीर श्रेष्ठले हानेको लगातारको गोलले टिमले जित हासिल गरेको थियो । वडा नं ११ का खेलाडी जर्सी नं ११ का तिलक पुलामी मगर म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
यसैगरि दोस्रो दिनको दोस्रो खेल वडा नं ६ र १७ बिच भएको थियो । जसमा वडा नं ६ लाई वडा नं १७ ले ९–० ले स्तब्ध पार्दै नतिजा आफ्नो पक्षमा पारेको छ । देवचुली १७ को जितका लागि जर्सी नं १७ का भिस्म मगर, जर्सी नं १० का सोनी तामाङले ३ गोल, जर्सी नं ७ का आमास तामाङ, जर्सी नं ८ का सुमन सुनार, जर्सी नं ९ का समील मगरले २ गतेल र जर्सी नं ११ का लुकास तामाङले गरेको लगातारको गोल नै निणार्यक गोल बनेको थियो । खेलमा वडा नं १७ का जर्सी नं १० का सोनी तामाङ म्यान अफ द म्याच बनेका छन् ।
नगर खेलकुद विकास समिति देवचुलीको आयोजना र जनकल्याण समिति सामाजिक विकास केन्द्र फिर्केको सह–आयोजनामा तेस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो । नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरूको प्रतिभा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समिति देवचुलीका अध्यक्ष सुभाष ओझाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमललाई ८१ हजार र द्धितीय हुने टिमलाई ४१ हजार प्रमाणपत्र, मेडल र ट्रफी साथै सेमिफाइनलमा पुग्ने दुई टिमलाई ५ हजार ५ सय पुरस्कार उपलब्ध गराउने ओझाले बताउनुभयो ।
खेललाई सफल बनाउन सम्पूर्ण नगरबासीलाई खेल स्थलमा नै आएर सहयोग गर्न जनकल्याण समिति सामाजिक विकास केन्द्र फिर्केका अध्यक्ष गिरीराज गौतमले बताउनुभएको छ ।
यसैगरि बिहिबार पनि दुई खेल हुने भएको छ । दिउँसो १ बजे हुने पहिलो खेलमा वडा नं ५ ले वडा नं ९ को सामना गर्नेछ भने दिउँसो ३ बजे हुने दोस्रो खेलमा वडा नं १६ ए र ४ आमनेसामने हुने नगर खेलकुद विकास समिति देवचुलीका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो ।खेल देवचुली १६ रजहरमा रहेको देवचुली मा.विको खुल्लामैदानमा भइरहेको छ । प्रतियोगिता आगामी माघ २८ गतेसम्म चल्नेछ ।