देवचुली,
गत माघ ५ गते देखि सञ्चालनमा आएको चौथो देवचुली महोत्सवको सोमबार पाँचौ दिनसम्म आइपुग्दा महोत्सवले गति लिएको छ । महोत्सवमा विभिन्न प्रकारका बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी भइरहेको अवस्थामा महोत्सवमा रहेका गोलाकर घरले सबैको आर्कषण केन्द्रित गरेको छ ।
महोत्सव स्थलको बायाँ भागमा रहेका तीनवटा जातीय पहिचान झल्कने घरमा थारु जातीको बिशेष खाना चिच्चर, घोङ्गी र माछा खानेको घुँईचो लागेको छ । महोत्सव अवलोकनका लागि पुगेका मानिसहरु जातीय पहिचान झल्कने घरमा राखिएको सामग्रीको फोटो खिच्ने साथै चिच्चर र घोङ्गी खान व्यस्त देखिन्थे । थारु समुदायका महिला दिदीबहिनीहरु भने महोत्सव अवलोकनका लागि आएका दर्शकहरुलाई कसौंडीमा चिच्चर बनाउन र खुवाउन व्यस्त छन् ।
देवचुली नगरपालिकाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वासथ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको देवचुली उद्योग वाणिज्य सुर्य प्रसाद दवाडीले बताउनुभयो । महोत्सव आगामी माघ १५ गते सम्म देवचुली नगरपालिका वडा नं १७ फारम, बरचुली मा।विको खुल्ला मैदानमा संचालन भइरहेको छ ।