देवचुली,
बिहिबार देखि सुरु भएको चौथो देवचुली महोत्सवको दोस्रो दिन आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका भित्र रहेका आमा समूहहरु बिच हाजिरी जवाफ प्रतियोगिता भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा देवचुली १३ को आशा आमा समूह प्रथम भएको छ । यस्तै जनमिलन आमा समूह देवचुली १७ द्धितीय भएको छ भने श्री स्वास्थानी दिदिबहिनी आमा समूह देवचुली १७ तृतीय भएको छ ।
प्रतियिोगितामा नगरभित्रका ८ वटा आमा समूहको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई शनिबार पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिकाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले बताउनुभयो ।
महोत्सव आगामी माघ १५ गतेसम्म चल्नेछ । वि.सं २०७३ सालदेखि देवचुली उद्योग वाणिज्य संघले महोत्सव गर्दै आईरहेको छ । बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी रहेको छ । महोत्सव देवचुली १७ फारम, बरचुली मा.विको खुल्ला मैदानमा भइरहेको छ ।