देवचुली,
उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाको चौथो देवचुली महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मन्त्री एवम् नेकपा माओवादी केन्द्रीका संसदीय दलका नेता हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा महोत्सवको समुद्घाटन गरिएको हो । मध्ययन १२ बजे देवचुली मा.विको खेलमैदान देखि शुरु भएको शोभायात्रा वडा कार्यालय हुँदै राजमार्गको दक्षिणतर्फबाट फारम चोकमा निस्किएर महोत्सव परिसरसम्म पुगेको थियो । शोभायात्रामा बाजागाजा, विभिन्न संघसंस्थाको ब्यानर, साँस्कृतिक झाँकी पहिरन सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी, रोशन बहादुर गाहा, देवचुली वडा नं १७ का वडाध्यक्ष गणेशप्रसाद चालिसे (दिपक), देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्मराज बस्याल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी, अमृत भट्टचन, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सन्दिप कुमार कोइराला लगायतले चौथो देवचुली महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले चौथो देवचुली महोत्सवलाई सफल पार्न सम्पूर्णको सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । देवचुली नगरपालिकाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वासथ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको दवाडीले बताउनुभयो ।
देवचुली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले सहजीकरण गर्नुभएको थियो ।
महोत्सव आगामी माघ १५ गतेसम्म चल्नेछ । वि।सं २०७३ सालदेखि महोत्सव गर्दै आईरहेको छ । बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी रहेको छ ।