देवचुली,
आगामी माघ ५ गते देखि सुरु हुने चौथो देवचुली महोत्सवलाई सफल पार्न तयारी तिव्र अगाडि बढाइएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको चौथो देवचुली महोत्सवका लागि बुधबार देवचुली वडा नं १७ मा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली वडा नं १७ मा रहेका विभिन्न आमा समूह,विभिन्न संघ संस्था, टोल विकास समिति लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । चौथो देवचुली महोत्सवलाई सफल पार्नका निम्ति संघसंस्थाको भूमिका कस्तो रहने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा रजहर इलाका प्रहरी कार्यालयका प्रमुख भीमसेन घिमिरेले महोत्सवलाई सफल पार्न सुरक्षाकर्मी मात्रै नभई सम्पूर्ण देवचुली १७ का वडाबासी एवम् आयोजकले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । उहाँले विगतका महोत्सवलाई हेरेर पनि हामी सबैले सिक्नुपर्ने बताउनुभएको थियो ।
यसैगरि अन्तरक्रियामा उपस्थित देवचुली १७ मा रहेका विभिन्न संघ संस्था एवम् आमा समुह, टोल विकास समितिका पदाधिकारीहरुले महोत्सव देवचुली १७ मा सञ्चालन हुनु नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेकाले यसलाई सफल बनाउन आँफूहरु हरेक क्षेत्रबाट लाग्ने बताएका थिए ।
चौथो देवचुली महोत्सव २०७९ संघसंस्था समन्वय समितिका संयोजक तेज प्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चालिसेले महोत्सवलाई सफल बनाउन सबैभन्दा ठूलो हात वडावासीको पनि रहेकाले सम्पूर्णलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले देवचुली १७ को कृषि, पर्यटनलाई प्रबर्धन गर्न महोत्सवले बढि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले विभिन्न संघसंस्थाको उपस्थितिले आँफू सकारात्मक रहेको बताउँदै महोत्सवलाई सफल पार्न सम्पूर्णको सहयोगको आवश्यकता रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विभिन्न आमा समूह, टोल विकास संस्था, खानेपानी संस्था, सहकारी, होमस्टे, बाल क्लब, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली उद्योग वाणिज्य संघका महा–सचिव विनोद सिलवालले गर्नुभएको थियो । महोत्सव देवचुली १७ फारम, बरचुली मा.विको खुल्ला मैदानमा हुने भएको छ ।