गैंडाकोट
नवलपुरमा पहिलो पटक गैडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इंग्लिस स्कुलले अभिभावकहरूको प्रतिभा प्रस्फुटन कार्यक्रमको आयोजना गरेको छ। विद्यालयले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारी फरक र पृथक खालको कार्यक्रमको आयोजना गरिएको हो।
हरेक विद्यालयमा गरिने भन्दा फरक शैलीमा यस विद्यालयले अभिभावकहरूको बिचमा यस्तो कार्यक्रमको आयोजना गरेको विद्यालयकी एकेडेमिक हेड सिता भण्डारीले बताउनुभएको छ। विभिन्न दिवसको मौकामा विद्यार्थीहरूको बिचमा विभिन्न कार्यक्रमहरू गरिंदै आएकोमा यस पटक अभिभावकहरूको बिचमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि आफ्नो नाम जस्तै युनिक कार्यक्रमको सुरुवात गरेकोमा अभिभावक गीता काफ्लेले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
विद्यालयको नवनिर्मित सभाहलमा भएको कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मका अभिभावकहरूको उपस्थिति सँगै करिव ३ दर्जन अभिभावकहरूको प्रस्तुति रहेको थियो। अभिभावकहरूले विभिन्न गीतमा नृत्य , कविता र गायन जस्ता प्रस्तुति दिँदै कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माको अध्यक्षता सँगै शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले विद्यालयले हरेक पटक फरक प्रकृतिका कार्यक्रमहरू गर्दै यस क्षेत्रमा फरक पहिचान स्थापना गरिसकेकाले सम्पूर्णलाई विद्यालयप्रति सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभएको थियो। यो सँगै विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष शर्माले विद्यालयले अभिभावक सँगको सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीहरूको हकहितको लागी सदैव युनिक परिवार लागि परिरहने बताउनुभएको थियो। शर्माले आफ्ना बालबालिकाहरूलाई अगाडि गएर बोल्नुपर्छ भन्दै प्रोत्साहन गर्ने अभिभावकहरूको लागी आफू पहिलो उदाहरण बन्दै आफ्ना बाबुनानीको रोलमोडल बन्नको लागी यो कार्यक्रम कोशेढुङगा साबित हुनेमा कुनै दुई मत नरहेको बताउनुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम पराजुली , शिक्षक अभिभावक संघका सदस्यहरू निर्मला रामदाम , भगवान पुरी , ओमराज गुरुङ , समाजसेवी भगवान काफ्ले लगायतको आतिथ्यता रहेको थियो। विद्यालयले २५ औँ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्दै आइरहेको विभिन्न कार्यक्रम अन्तर्गत आगामी पौष २३ गते खुला रक्तदान कार्यक्रम सँगै विद्यार्थीहरूको आँखा शिविरको आयोजना गरेको छ।