निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ वार्षिकोत्सव मनाएको छ । सोमबार पुस १८ गते स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको बैंकले देशव्यापीरूपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।देशका सातवटै प्रदेशमा प्रदेश कार्यालय परिसरमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश उपप्रमुख विदुर ज्ञवालीले जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत बागमती प्रदेशका दुई ठाउँमा रक्तदान गरिएका छन् । यस प्रदेशका भरतपुर शाखा चितवन र कान्तिपथ शाखा काठमाडौँमा रक्तदान गरिएका भरतपुर शाखा प्रबन्धक केशवप्रसाद ओलीले जानकारी दिए ।
केन्द्रीय बस टर्मिनल चोक भरतपुरमा रहेको कार्यालय परिसरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म रक्तदान गरिएको थियो । कार्यक्रममा ६६ जनाले रक्तदान गरेको भरतपुर शाखा इञ्चार्ज कल्पना बस्ताकोटीले जानकारी दिइन् ।
त्यस्तै प्रदेश १ को बिर्तामोड शाखा झापा, मधेश प्रदेशको मिर्चैया शाखा सिरहा, गण्डकी प्रदेशको न्यूरोड शाखा पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा धनगढी शाखा कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएका छन् ।
देशभर आयोेजित कार्यक्रममा कुल ५ सय १२ जना रक्तदाताले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजोपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बागमती प्रदेश उपप्रमुख ज्ञवालीले जानकारी दिए ।
ग्लोबल आइएमई निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको वाणिज्य बैंक हो । देशभर यसका २९२ शाखा, २७१ एटीएम छन् । त्यस्तै २८३ शाखारहित बैंकिङ सेवा, ५२ विस्तारित शाखा तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९ सयभन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गर्दै आएको ज्ञवालीले जानकारी दिए ।
नारायणी अनलाइनबाट