वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा एक समय चितवनको पहिचान बनेको तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ ।
आयोजक उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेकोले त्यसको प्रवद्र्धनका लागि महोत्सवमा विशेष परिषर बनाउन लागिएको जानकारी दिए । मह उत्पादनका लागि पनि चितवन प्रख्यात जिल्लाको रुपमा चिनिन्छ । ‘यसपटक महोत्सवमा मौरी र तोरीको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष परिषर निर्माण गर्दैछौं, हरेक महोत्सवमा यहाँको कृषि र उद्योगलाई प्रवद्र्धन गर्दै आइरहेको छौं–अध्यक्ष श्रेष्ठले भने ।
प्रवद्र्धनात्मक परिषरमा मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरि कृषितर्फ आकर्षीत गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । यसअघिको चितवन महोत्सवमा दूध, मह, केरा, पोल्ट्रीलगायतका क्षेत्रलाई प्रवद्र्धन गरिएको थियो । यसपटकको महोत्सवमा कलात्मक प्रवेशद्धार राखिनुको साथै महोत्सव परिसरमा कलात्मक आकृतिहरु निर्माण गरिने आयोजकले जनाएको छ । यसपटक नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोड दिँदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम समेत राखिएको महोत्सवका मुल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए ।
यसपटकको चितवन महोत्सवमा ७ वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४५० वटा स्टल रहने आयोजकले जनाएको छ । ती सबै स्टलहरुको बिमा समेत गरिने छ ।
महोत्सवमा प्रवेशका लागि सर्वसाधरणतर्फ रु.६० र विद्यार्थीतर्फ रु.३० को टिकट राखिएको छ । यसपटक टिकेट वालेट मार्फत पनि खरिद गर्न सकिने भएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकसहित ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नारायणी नदी किनारमा पुस २५ देखि माघ ४ गते अर्थात् १० दिनेसम्म चल्ने महोत्सव अवधिमा २५ करोड भन्दा बढीको करोबार समेत हुने आयोजकको अनुमान छ ।
यस्तै यसपटक पनि महोत्सव अवधिमा फुड फेष्टिबल आयोजना गरिने भएको छ । पुस २८ देखि माघ २ गतेसम्म नारायणगढस्थित क्याम्पाचौरमा गरिने छ । यो फेष्टिबल रात्रीकालिन समयमा हुनेछ । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका संभावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरु संचालन गरिने आयोजकले जनाएको छ ।
नारायणी अनलाइनबाट