चियर्स
जिन्दगी मधुशाला न हो ।
आज,
हामी संयोगवश भेटिएका छौँ ।
के खाने ?
यहाँ प्रचलित लोकल 'व्यथा' पाइन्छ
बजारमा चलेका दु:ख, पीडा पनि पाइन्छन्
अङ्ग्रेजी ब्रान्ड सरो, स्याड्नेस्
स्पेनिस ब्रान्ड दोलर
जापानिज ब्रान्ड कानासिमी
सबै सबै पाइन्छन् ।
हजुर के खाने ?
दु:खै पिएर दिन बित्छ
रातमा यसरी भट्टीमा आएर दु:खै पिउँछु
कहिले अरू जस्तै अरू भेट्छु
कहिले म जस्तै अरू भेट्छु
आज चाहिँ हजुर भेटिनु भएको छ ।
अँ साँच्चै,
सितनमा के लिने ?
प्रेमीले छोडेर जाँदा जलेको कलेजो मगाऊँ ?
आफ्नैले हेपेर गलेको देहको सेकुवा पनि पाइन्छ
भन्नै नमिल्ने चोटबाट बनाइएको चटपट पनि छ
रहर दुर्घटनामा परेर खुट्टा मात्रै बचेछ
क्या मीठो हुन्छ, त्यही लेग पिस मगाऊँ र ?
पीर नलिनुस् न यार
कतै कतै अतीतका रेफ्रिजिरेटरबाट -
खुसीका केही थान आइस पनि राखौँला
हर्षका सोडा पनि मिसाऔँला
मान्छेहरू झूटका कुरा गर्छन्
हामी आधा दर्जन सत्यका बोलौँला
मान्छेहरू निख्लो आँसु आँखैदेखि पिउँछन्
हामी गिलासमा, बोत्तलमा हालेर पिऔँला
थोरै बढी मातौँला
घर जाँदा दुईचार ठाउँमा लडौँला
अरे, मान्छेहरू जिन्दगीबाटै त लड्छन् ।
किन धक मान्नुहुन्छ यार ?
दुनियाँले हजुर भट्टी छिरेको देखिसक्यो
अब हजुर पानी पिएर फर्केपनि -
दुनियाँको नजरमा जँडिया नै हो ।
चियर्स !
✍परिविक्रम
कृषि तथा वन विज्ञान अध्ययन संस्थान, रामपुर, चितवन