देवचुली,
देशको बेरोजगारी समस्यालाई महसुस गरी सिपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी हटाउने उद्धेश्यले पछिल्लो समय विभिन्न ठाउँमा युवाहरुलाई उद्यमशीलता विकास तालिम सञ्चालन गर्न थालिएको छ । नवलपुरको देवचुली नगरपालिकामा पनि उद्यमशीलता विकास तालिम सुरु गरिएको छ । आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा नगरभित्र रहेका युवायुवतीहरुलाई स्वदेशमा नै कसरी उद्यमी बन्न सकिन्छ भन्ने विषयमा तालिमको समुद्घाटन गरिएको हो । पछिल्लो समय रोजगारकै लागि विदेशीने युवायुवतीहरु दिनानुदिन बढिरहेकाले यसको न्यूनिकरण र स्वदेशमा नै रोजगार सिर्जना गर्ने उपायका विषयमा तालिम सञ्चालन गरिएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र काठमाडौँको आयोजना र देवचुली नगरपालिका, देवचुली उद्योग वाणिज्य संघको सह–आयोजनामा उद्याशीलता तालिम सुरु भएको छ । तालिममा मेकानिकल ईन्जनियर लक्ष्मि श्रेष्ठले आशा, अपेक्षा र संकलनको विषयमा पहिलो दिन प्रशिक्षार्थीहरुलाई तालिम दिनुभएको छ भने सिनियर डिभिजन ईन्जनियर अमित आचार्यले उद्यम प्रबद्र्धनमा सरकारी निकायको भूमिका, औद्योगिक उत्पादन व्यवस्थापन, व्यवसायिक अवसरको परिचय, औद्योगिक स्किमको परिचय, बैकिङ लोन, कर्जाको विषयमा र निमित्त कार्यकारी अधिकृत विष्णु भुसालले उद्योग भनेको के हो, उद्यमशीलता विकास जस्ता विभिन्न विषयमा तालिम दिनुभएको थियो ।
औपचारिक कार्यक्रमको अध्यक्षता देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगर प्रमुख न्यौपानेले अब नगर भित्र रहेका बेरोजगारी युवाहरुलाई उद्यमशीलता विकासको तालिम सञ्चालन गरि रोजगारी बनाउने बताउनुभयो ।
कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रेशम सापकोटा, देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, प्रशिक्षकका रुपमा रहनुभएका निमित्त कार्यकारी अधिकृत विष्णु भुसाल लगायतले तालिममा उपस्थित सम्पूर्णलाई तालिम सिकेर जीवनमा लागु गरि स्वदेशमा नै स्वरोजगार बन्न आग्रह गर्नुभएको थियो ।
तालिम ७ दिन सम्म चल्नेछ । तालिममा ३५ जना भन्दा बढिको सहभागिता रहेको छ ।