देवचुली
देवचुली नगरपालिकामा सञ्चालित अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मध्यबिन्दु कलेज कावासोतीले उचालेको छ। रोयल क्रिकेट एकेडेमी देवचुली १० प्रगतिनगरमा आज शुक्रबार सम्पन्न फाइनल खेलमा मध्यबिन्दु कलेज कावासोतीले वरचुली माविलाई ८ रनले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो र यो सँगै वरचुली मावि फारमले उप विजेतामा चित्त बुझाएको छ।
मध्यबिन्दु कलेजको जितको लागी ब्याटिङतर्फ आदित राउतले ४६ र विशाल पौडेलले ३२ रनको महत्वपूर्ण योगदान दिएका थिए भने बलिङतर्फ कैलाश पँगेनीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर ५ विकेट लिएका थिए। यता वरचुली माविका लागी भने रविन तिमल्सेनाले ४२ रन जोड्दा अपराजित पौडेलले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर ३ विकेट लिएका थिए । यो सँगै विजेता र उपविजेताले क्रमश ५० हजार र २० हजारको साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिता भरि उत्कृष्ट खेल प्रदर्शन गर्दै बलरतर्फ अपराजित पौडेल , ब्याटिङ तर्फ गोविन्द बिक र म्यान अफ दि सिरिजको रुपमा बिशाल पौडेल पुरस्कृत भएका छन्। ८ वटा कलेजको सहभागिता रहेको प्रतियोगिता गत पौष ८ गते देखि सुरु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले विजेता र उपविजेतालाई मेडल , प्रमाणपत्र र ट्रफी वितरण गर्दै सबै खेलाडीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । न्यौपानेले पछिल्लो समय युवाहरू खेलमा आकर्षित भएको देख्दा खुशी लागेको र युवाहरूलाई प्रोत्साहन गर्नका लागि पनि नगरपालिकाले खेलमा बजेट विनियोजन गर्ने बताउनुभएको थियो । उहाँले बेला बेला यस्ता कार्यक्रमहरू सञ्चालन गर्नसके नगरपालिकाबाट राम्रा खेलाडीहरू उत्पादन गर्न सकिने समेत बताउनुभयो ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहनुभएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले स्थानीय स्तरमा लुकेर बसेका प्रतिभावान् खेलाडीहरूलाई यस्ता प्रतियोगिताले थप हौसला बढाउने बताउनुभयो । खेलले खेलाडीलाई सक्षम, आत्मनिर्भर र अनुशासित बनाउने बताउँदै बालबालिका देखि युवाहरूलाई खेलमा विशेष चासो दिन समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्ले, बरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी, मध्यबिन्दु क्याम्पसका प्राध्यापक करुण लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता रोयल क्रिकेट एकेडेमीका सञ्चालक सन्तोष न्यौपानेले गर्नुभएको थियो । प्रतियोगितामा मध्यबिन्दु कलेज , कुमारवर्ती कलेज , लुम्बिनी आदर्श डिग्री कलेज , देवचुली मावि , वरचुली मावि , अक्सफोर्ड कलेज , नमुना साइन्स कलेज र लुम्बिनी आइसीटी कलेज लगायतको सहभागिता रहेको थियो।