चितवनको नारायणगढ–गोन्द्रङसम्म ६ लेन सडक बिस्तारका लागि घरटहरा भत्काएको पाँच दिन पूरा भएको छ ।
घर भत्काउँदा निस्किएको कंक्रिट फोहोर र लथालिङ्ग भएको बिजुलीको तारसहितको विद्युतीय फोहोरको व्यवस्थापन भने अझै हुन सकेको छैन ।
जसले गर्दा पैदल यात्री र सवारी पार्किङमा सर्वसाधारणले सास्ती भोग्नु परेको सडक यात्रु जंगबहादुर शाहीले नारायणी अनलाइनलाई बताए ।
गैंडाकोटका शाहीले भने, ‘नेताहरुले आफ्नो लागि गरेको होइन यो सबैलाई सजिलो होस् भनेर गरेको हो । तर, घर भत्काएसँगै निस्किएको कचरा–फोहर सफा नगरिदिँदा हिडडुल गर्न र सवारीसाधन पार्क गर्न अवरोध भएकोछ ।’
भरतपुर महागरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा पार्किङ स्थल नहुदा दशकौं देखि सवारीसाधन सडक पेटीमै पार्क हुँदै आएका छन् । मुल सडक पेटीमा अवरोध भएसँगै सो सडक अन्तरगत पर्ने भित्री सडकमा सवारी पार्किङको चाप बढेको छ । यस्तै पदैलयात्रु आवत–जावतका लागि सवारी गुड्ने सडक प्रयोग गर्न बाध्य भएका छन् । जसले दुर्घटनाको भय बढाएको नारायणगढ सडकमा भेटिएकी यात्रु संगिता रानाभाटले बताइन् । ‘नारायणगढ बजार व्यस्त शहर हो । सवारीसाधन गुडेको–गुडेकै गर्छ । सडक पेटी छिटो छरितो सफा नगर्दा सवारी गुड्ने बाटोबाटै हिड्डुल गर्नुपरेको छ । ठूला साधन ट्रक, टिप्पर अगाडि पछाडिबाट आउँदा आङनै सिरिङ्ग हुन्छ । हान्छकी–हान्छकी भन्दै डराउदै जोगिदै हिड्नु परेको छ’, उनले भनिन् ।
यस क्षेत्रमा रहेका बैँकहरुबाट बैँकिङ सेवा लिदै आएका सेवाग्रागीले पनि समस्या भोगिरहेका छन् । लक्ष्मी बैँकमा पैसा निकाल्न आएकी अंकिता कँडेलले बैँक पत्ता लगाउन एक घण्टा बढी समय लागेको बताइन् । लामो समय लगाएर खोजी गरे पनि पैसा झिक्न भने नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘डोजर चलाएर घरको रुप नक्सानै बदलिएछ । बैँकले टासेको बोर्ड पनि छैन । एक–दुई घण्टा बैंक खोज्नै लाग्यो । भेटेर नी कुनै काम लागेन बन्द रैछ ।’ यस विषयमा बैँकले सेवाग्राहीलाई जानकारी नदिएकोले समस्या भोग्नु परेको कँडेलको भनाइ छ ।
भेटघाट रेष्टुरेन्टका प्रोपाइटर गोविन्दप्रसाद तिवारीले नारायणगढ–गोन्द्राङसम्म अरबौंको क्षति हुनुमा महानगरपालिका दोषी रहेको दाबी गरे । उनले भने, ‘हामी विकास बिरोधी होइनौं । अहिले ६ लेनको बाटो बनाउनु थियो त किन त्यति खेर नक्सा पास गरे । उनीहरुले नक्सा पास गरिदिँदा हाम्रो अरबौं नोक्सानी भयो । यसको क्षतिपूर्ति कसले दिने ? हाम्रो छातिमाथि डोजर चलाएको महसुस भइरहेको छ ।’
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले जग्गा अतिक्रमण गरेर भवन निर्माण गरेको ठहर भए महानगरले कसरी नक्सा पास ग¥यो भन्नेमा आफू अनबिज्ञ रहेको बताए । उनले भने, ‘यसमा मेरो पनि चित्त बुझिरहेको छैन । पहिलाका कार्यप्रमुखले कसरी नक्सा पास गरे । यहाँ पीडितहरु गुनासो लिएर आइरहेका छन् ।’ यो विषय मेयर रेनु दाहालसँग सम्बन्धित रहेको अधिकारीले बताए । मेयर दाहालको फोन नउठे पछि नारायणी अनलाइनले उपमेयरसँग यस विषयमा छलफल गरेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्दे्रश्वर शाहले सफाइको काम भइरहेको बताए । भवन भत्काए जस्तो छिटो नहुने भन्दै सफाइ गर्न समय लाग्ने बताए ।
नारायणी अनलाइनबाट