नवलपुर
नवलपुरको गैँडाकोटमा पोखरा स्क्र्याबल क्लबको आयोजना सँगै गैंडाकोट इंग्लिस स्कुलको व्यवस्थापनमा आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा देशै भरिको २७ जिल्लाका ९५ जना प्रतियोगीहरूको सहभागिता रहेको थियो ।
आज शनिबार सम्पन्न भएको खेलमा विश्वज्योति मावि देवचुलीका प्रनिश वास्तोला छैटौँ हुन सफल भएका छन्। वास्तोला सँगै गैँडाकोट इंग्लिस स्कुल नवलपुरका अर्नव पाण्डे प्रथम , सैनिक आवासीय माध्यामिक विद्यालय कास्कीका आयुश ढकाल द्वितीय , राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बाराका रोशन कुमार यादव तृतीय , विजय सामुदायिक शिक्षा सदन नवलपुरका शरद भण्डारी चौथो हुन सफल भएका छन्।
प्रतियोगितामा उत्कृष्ट २० मा पर्न सफल विद्यार्थीहरूलाई फेब्रुअरीमा बङ्गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता जनाउने आयोजक संस्था पोखरा स्क्र्याबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताएका छन्। कार्यक्रममा बोल्दै स्क्र्याबल क्लब नवलपुर जिल्ला कोर्डिनेटर गैंडाकोट इंग्लिस स्कुलका एकेडेमिक कोर्डिनेटर विना कोइरालाले शब्दको खेल रुपमा लिइने स्क्र्याबल खेलले विद्यार्थीहरूमाझ शब्द भण्डारको ज्ञान, स्मरणशक्तिको विकास गर्नुका साथै विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गर्ने बताएकी छिन्।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट इंग्लिस स्कुलले फरक पहिचानका साथ खेलको माध्यमबाट शिक्षण सिकाइ गराइरहेको भन्दै सफलताको कामना व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा, गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, अमेरिकन राजदूतावास रिजनल इंग्लिस ल्याङ्ग्वेज स्पेसलिस्ट विश्व गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गैँडाकोट इंग्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्यालले गैँडाकोटमा सम्पन्न भएको स्क्र्याबल खेलले गैँडाकोट नगरकै पहिचान बढाएको विश्वास व्यक्त गर्दै देशभरबाट आएका प्रतिस्पर्धी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।