तीन जिल्लाको निर्वाचन विवादका कारण निर्वाचनको अन्तिम मत नतिजा तयारी कम्तिमा पनि एक साता सर्ने देखिएको छ ।
दोलखा, स्याङजा र बाजुराका केही ठाँउमा विवाद भएर निर्वाचन रोकिएको थियो । दोलखामा फेरि मतदानको निर्णय भए पनि अरु दुई ठाँउमा के गर्ने भन्नेबारे टुंगिएको छैन ।
निर्वाचनको अन्तिम तयारीवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गतेसम्म सबैको मतगणना टुंग्याउने बताएका थिए ।
आयोगले मंसिर मसान्तसम्म सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा अन्तिम मतपरिणाम र प्रतिवेदन बुझाउने तयारी गरेको थियो, तर तीन ठाँउ निर्वाचन प्रक्रिया अवरुद्ध हुँदा तोकिएको समयमा काम नसकिने भएको हो ।
‘तीन ठाँउमा निर्वाचन रोकिएकाले यो प्रक्रिया अब यसै पनि १०/११ दिन सर्ने भइसक्यो’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘प्रत्यक्ष र समानूपातिकको मतदान गर्न कम्तिमा पनि थप एक साता लाग्छ, अरु तालिका पनि त्यसै अनुसार ढिलाइ हुने देखिन्छ ।’
आइतबारमात्रै निर्वाचन आयोगले दोलखामा फेरि मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । त्यहाँ अब १५ गते (आगामी विहीबार) मतदान हुने भएको छ ।
स्याङजा-२ र बाजुराबाट स्थलगत अध्ययन प्रतिवेदन नआएको भन्दै आयोगले त्यहाँ मतगणना थाल्ने कि फेरि मतदान गर्ने भन्ने निर्णय गरेको छैन ।
दुवै जिल्लामा प्रमुख दलहरु कांग्रेस र एमालेबीच एक अर्कामाथि बुथ क्याप्चर गरेको आरोप प्रत्यारोप चलिरहेको छ ।
छिटोमा पनि पुस २२ गतेभित्र देशभरको प्रत्यक्ष र समानुपातिक मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएमा निर्वाचन आयोगले कम्तिमा पनि एक साता समय दिएर राजनीतिक दलहरुलाई समानूपातिकतर्फ निर्वाचित सांसदहरुको नाम पठाउन समय दिनुपर्छ ।
मंसिर मसान्तसम्म त्यो प्रक्रिया पूरा भएमा थप रुजु गर्न १/२ दिन लाग्ने निर्वाचन आयोगका कर्मचारीहरु बताउँछन् ।
तीन जिल्लामा भएको ढिलाइले गर्दा निर्वाचन आयोगले पुसको पहिलो सातामात्रै राष्ट्रपतिलाई निर्वाचित सांसदहरुको नामावलीसहितको प्रतिवेदन बुझाउनेछ, त्यसपछि मात्रै नयाँ प्रतिनिधि सभा गठन र सरकार गठन प्रक्रिया सुरु हुन्छ ।
अनलाईनखबरबाट