> स्वागत छ यहाँलाई बटम लाईनमा
. धन्यवाद ।
> आराम हुनुहुन्छ ?
.आरामै छु ।
> मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिदै छ । यो समय आइरहँदा पछिल्लो दिनचर्या कसरी बिताउनु भएको छ ?
. बिहान उठ्दा घरमा कार्यकर्ता साथीहरु आइसक्नु हुन्छ । उहाँहरु सँग एउटा योजना बनाउछौं र हामी अगाडी बढ्छौं । बिहान देखि मतदाताको घरमा जाने उहाँहरुको समस्या बुझ्ने आफ्ना एजेण्डाहरु उहाँहरु समक्ष प्रस्तुत गर्दै हामी अगाडी बढीरहेका छौं ।
> तपाईले सामाजिक र राजनितिक काम गर्दै आउनु भएको छ । यो चुनावको दौडधुपलाई कसरी निक्र्योल हुन्छ ?
. हिजोको दिनमा पनि म यसरी नै लागेको थिए । तर चुनावमा जस्तो चाहिँ होइन । मैले सामाजिक र राजनितिक काममा बिहान देखि बेलुका सम्म लागेकै हुन्थें । समय मिलाउन त महिलाहरु सिपालु नै हुन्छन् किन भने हामी महिलाहरु धेरै काम गर्नुपर्ने भएकोले कसरी यसलाई व्यवस्थापन गर्ने सबै योजनाबद्ध ढङगले गर्छौं । त्यसरी नै कति बेला मतदाताहरुको बिचमा जाने, कति बेला कार्यकर्तालाई भेट्ने, कति बेला आफ्नो अभिभावकहरु सँग भेट्ने, कहिले काहीँ आफु भन्दा ठूला नेताहरु सँग सल्लाहा सुझाव लिनुपर्छ कति बेला भेट्ने समय मिलाएर हिडेका हुन्छौं ।
> महिला भएपछि घरको र परको काम गरिरहँदा धेरै भिन्नता छैन भन्ने लाग्छ यहाँलाई ?
. हैन घरको र परको भिन्नता त हुन्छ । तर मैले घरको र परको सँगसँगै लगेर यहाँसम्म आएको भएर होला अलि सहज चाहिँ छ ।
> तपाईले कस्ता एजेण्डा र योजना लिएर जनतामा जादै हुनुहुन्छ ?
. हामीले अहिले समृद्ध नेपाल सखी नेपाली बनाउने अभियानमा छौँ । सबैभन्दा पहिले समृद्ध अभियानमा बाधक बनेका नितिहरुलाई सुधार गर्नुपर्छ । यसले काम गर्न अप्ठ्यारो पारेको छ । यसलाई अगाडी बढाउने, महिलाका समस्या थुप्रै छन्, बिकास निर्माणका कुरा छन् । महिलाहरुलाई समाजिक रुपमा मात्र सशक्तीकरण गरेर मात्र नहुँदो रहेछ । आर्थिक रुपमा सबल बनाउन सकिएन भने हामीले सोचेको जस्तो कल्पना गरेको जस्तो समृद्ध नेपाल हुदैन भन्ने कुराले महिलाहरुलाई सशक्तीकरण गर्ने, मेरो क्षेत्रमा तीनवटा भूगोल छ । त्यहाँका समस्या पनि फरक–फरक रहेको छ । बौदिकालि र हुप्सेकोटमा बाटोको समस्या छ । अहिले पनि वडामा बिजुली पुगेको छैन, खानेपानीको समस्या छ । गरि राखेको खेतिले बजार पाएको छैन । अब हामीले यसलाई बजार व्यवस्थापन गर्ने, तल हेर्ने हो भने तटबन्धनको समस्या छ । ५ वर्षमा ५ लाख युवाहरुलाई रोजगारको व्यवस्था गर्ने, पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने ।
> आम मतदाताहरुको चुनाव प्रति कस्तो प्रतिकृया पाउनु भएको छ ?
. जनताहरुको धेरै समस्या छ । सुकुम्बासी समस्या छ । हामीले यसलाई तत्काल समाधान गर्ने भनेका छौं । शिक्षा, स्वस्थ्य, खानेपानीमा समस्या छ । नवलपुरलाई सुगम जिल्लाको रुपमा राखेका छौँ । त्यसैले पनि समस्या पारेको छ । ति सबै समस्या समाधान गर्नेमा ढुक्क रहनलाई प्रतिबद्धता गरेका छौं ।
> तपाईको प्रतिस्पर्धीलाई कुन रुपमा लिनु भएको छ, तपाईको प्रतिस्पर्धा कस्तो हुने आंकलन गर्नु भएको छ ?
. पहिलो कुरा त नवलपुरको छोरी हुँ । नवलपुरको धेरैले मलाई चिन्नु हुन्छ । हिजोकोे मेरो कामलाई हेर्नु भएको छ । एक त महिला उम्मेदवार धेरै छैनन् । महिलालाई जिताउनु पर्छ किन भने महिलाले महिलाको समस्या बुझ्छन् भनेर महिलाहरुले हौसला दिनु भएको छ । महिलाहरुले बोलेको कुरा पुरा गर्छन् । जुनसुकै पार्टीका व्यक्ति भए पनि मलाई मत दिनुहुन्छ भन्ने म ढुक्क छु । हिजोको मेरो कामलाई हेरेर मलाई साथ दिनु भएको छ । त्यसैले मलाई सहज छ ।
> महिला नेत्री भएर उम्मेदवार दिएर अन्य पुरुष उम्मेदवारहरु सँग प्रतिस्पर्धामा हुनुहुन्छ ? कस्तो महशुस गर्नु भएको छ ?
. महिलाहरुलाई धेरै ठाँउमा समानुपातिकमा राखिन्छ । तर मेरो प्रत्यक्ष उम्मदवारी हो । मलाई पुरुष कमरेडहरुले पनि सहयोग गर्नु भयो । मैले महिला दिदि बहिनीहरुलाई के भन्ने गर्छु भने महिलाहरु आरक्षणमा मात्र बस्नु हुदैन प्रतिस्पर्धामा जान सक्नु पर्छ । प्रशिक्षण दिने बेला बोलेको कुरा व्यवहारमा लागु गर्न म प्रतिस्पर्धामा जानु पर्छ । पुरुषसँग म प्रतिस्पर्धामा जान्छु र मैले जित हासिल गर्छु भन्ने अठोटका साथ म अगाडी लागें । प्रतिस्पर्धामा गाह्रो त हुन्छ तर मैले सहज नै महसुस गरेको छु ।
> भोलि जितेर जानु भए पछि बिकास गर्ने क्रममा यहाँले नवलपुरको भविष्य कस्तो देख्नु भएको छ ?
. नवलपुरको सबै भन्दा राम्रो भविष्य छ । कृषि, पर्यटन, फलाम खानी छ । त्यसलाई उत्खनन गर्ने यो सबै काम गर्न सके नवलपुर समृद्ध बन्छ । नवलपुर मात्र होइन नेपाल नै समृद्ध बन्छ । म पार्टी नहेरी सबैलाई समान रुपले हेरेर बिकास गर्नेछु । मलाई लाग्छ नेकपा एमाले कै जित हुन्छ किन कि माहोल त्यस्तै देखेको छु । सबै मिलेर अगाडी बढ्ने हो भने नवलपुरको भविष्य राम्रो छ ।
> अहिले जनताहरुले नो भोट नट अगेन भन्छन् ? पुराना पार्टीले केहि गरेन नयाँ पार्टी आउनु पर्छ भन्ने आवाज छ । यो नो भोट नट अगेनलाई यहाँले कुन रुपमा लिनु भएको छ ?
. स्थानिय तहको चुनावमा केहि ठाउँमा स्वतन्त्र उम्मेदवारहरुले जित्नु भयो । त्यस्ले गर्दा युवाहरुमा बितृष्णा हो कि भन्ने देखिन्छ । यो देश बहुदलबाट अगाडी बढिरहेको छ । यो बहुदलीय व्यवस्थामा स्वतन्त्र एक दुई जना उम्मेदवारले मात्र जितेर यहाँको समृद्ध यहाँ हामीले बनाउन खोजेका भबिष्यलाई अगाडी बढाउन सक्दैन । यो के भनेको होला जस्तो लाग्छ, भने पुराना नेतालाई होइन पुराना दलका युवा नेताहरु चाहिन्छ भनेको हो । त्यसैले म युवा हुँ । म महिला पनि हुँ । अहिले धेरै युवाहरुलाई अगाडी बढाएको छ । यो देशलाई बिकास गर्न युवा कै हात र युवा कै काँधको आवश्यक छ ।
> तपाई नवलपुर क्षेत्र नं २ क का जनताहरुलाई के अपिल गर्न चाहानु हुन्छ ?
. मैले बिकास निर्माणका देखि लिएर सुशासन, समृद्ध र समानता गर्दै अगाडी बढ्ने भनेका छौं । मैले घर दैलोमा जाँदा जति प्रतिबद्धता गरेको छु । सबै मतदाताहरुलाई के अनुरोध गर्न चाहान्छु भने मैले जे बालेको छु जे प्रतिबद्धता गरेको छु । त्यो मैले मत माग्न मात्र होइन त्यो मैले काम गर्न प्रतिबद्धता गरेको हो । त्यसैले यहाँहरु सबैले मलाई विश्वास गरेर सूर्य चिन्हमा मत दिनु हुन अनुरोध गर्दछु ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।