नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलकाे धावनमार्ग मर्मत काममा हालसम्म २० प्रतिशत प्रगति भएको छ।
गत चैत १८ देखि सुरु भएको मर्मतको काम २० प्रतिशत सम्पन्न भएको नागरिक उड्ययन प्राधिकरणको अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिएका हुन्।
तीन महिनाको लागि रातको १० बजेदेखि बिहानको ८ बजेसम्म विमानस्थल बन्द गरी काम भइरहेको छ। विमानस्थलका अनुसार एक रातमा १ सय २० मिटर धावनमार्ग कालोपत्रे हुँदै आएको छ।
श्रेष्ठले मौसमले साथ दिए तोकिएको समयमा नै निर्माण सम्पन्न हुने जानकारी दिए।
उनले नेपालखबरसँग भने, ‘हालसम्म १२ सय मिटर धावनमार्ग कालोपत्रे भइसकेको छ। कामको गतिअनुसार तोकिएको समयमा नै धावनमार्ग मर्मतको काम सकिन्छ।’
विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर (१० हजार ७ फिट) लम्बाइ र ४६ मिटर चौडाइको छ।
धावनमार्गको काम पूरा भएपछि मात्रै ट्याक्सी वेको काम सुरु गरिने पनि उनले जानकारी दिए।
चैत १८ देखि वैशाख २ गतेसम्म धावनमार्गमा रनवे सेन्टरलाइन लाइटको डक्ट जडान गरिएको थियो। लाइट जडान सकिएपछि वैशाख ३ देखि पुरानो पिच उक्काएर नयाँ राख्न सुरु गरिएको थियो।
विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिँदै आएको एक हजार रुपैयाँ संकलनबाट मर्मतको काम अघि बढाइएको हो। चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको ठेक्का जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको हो।
विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी दैनिक चार सयभन्दा बढी उडान हुँदै आएको छ।
आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन्। त्यस्तै तीन नेपाली कम्पनीसहित अन्तर्राष्ट्रिय उडानमा ३१ विमान कम्पनीले उडान भर्दै आएका छन्।
विमानस्थलमा ट्विनटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ।
साथै विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ।