देवचुली ,
नवलपुर क्षेत्र न १ मा लोकतान्त्रिक बाम गठबन्धनको प्रचारप्रसार तीब्र गतिमा अगाडि बढिरहेको छ। यसै क्रममा आज शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले देवचुलीको किर्तिपुर र बन्दीपुरमा मतदाता भेटघाट गरिएको छ।
उक्त अवसरमा नवलपुर क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइरालाले बन्दिपुरमा उत्पादन हुने भुइँकटहरको बजारीकरण सँगै स्थानीय वनमा पाइने जडिबुटीको प्रशोधन गरि यहाँको आर्थिक उपार्जनमा काम गर्ने बताउनुभएको थियो।
उहाँले नगर र प्रदेशमा जसले काम गरेता पनि केन्द्रमा रही सबै योजनाको पहल आफूले गर्दै आइरहेको र आज सम्म यस क्षेत्रको विकासका लागी धेरै नै योजनाहरू पार्न सफल भएको स्मरण गर्दै यस क्षेत्रमा आफ्नै पहलमा बनिरहेको सडकमा वर्षाको समयमा देखिने समस्यालाई दिगो रुपमा समाधान गर्नका लागी आफैले सम्बन्धित निकायमा पहल गर्ने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभएको थियो।
कोइरालाले यस लगत्तै कीर्तिपुरका मतदाताहरूलाई भेटी अहिले आफ्नै घर अगाडिको सडक आफ्नै पहलमा बनेको र आउने दिनहरूमा यहा उत्पादन हुने अदुवालाई बजारीकरण गर्ने , आन्तरिक पर्यटनको लागी मगर होमस्टे सञ्चालन गर्ने र अब यस क्षेत्रमा विकासको लहर आउने समेत बताउनुभएको थियो।
यो सँगै नवलपुर क्षेत्र न १ ख का प्रदेश सभा सदस्य लोक प्रसाद भुर्तेलले आफू यहीको स्थानीय पनि भएकाले यस क्षेत्रको सबै समस्यालाई सहज रुपमा महसुस गर्ने गरी विकासको कामको लागी सबैलाई मतको लागी आग्रह गर्नुभएको थियो। उहाँले यस क्षेत्रलाई पर्यटन र कृषिको माध्यमबाट चिनाउन आफूले गुरुयोजना बनाएको समेत बताउनुभएको थियो।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरू यति बेला प्रचारप्रसार समिति नवलपुरका संयोजक अमृत भट्टचनको साथमा आफ्नो मतदाताहरूको घरगाउँमा पुगेर आफ्ना भावी योजना सँगै आज सम्म आफूहरूले गरेका कामहरूको बारेमा जानकारी गराउँदै हिँडिरहेका छन्। नगर संयोजक डिल्लीराम कडरियाको संयोजनमा बाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।