लमजुङ– अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।‘अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अरु केके भयो भन्ने विस्तृत जानकारी प्राप्त भइसकेको छैन,’ डीएसपी गुरुङले भने, ‘मसहित प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोली घट्नास्थल जाँदैछ । घटनास्थल पुग्न नै समस्या भइरहेको छ ।’ कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।घट्नास्थल नजिक भनिएको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले घटनाबारे सबै विवरण आइनसकेको जनाए ।दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन छ ।यता, लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन छन् । त्यस्तै, हाइड्रोपावरको उपकरणहरु ठूलो क्षति पुगेको उनको भनाई छ ।सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।