विश्वकप सुरु हुनुअघि अन्तिम चरणकाे खेलमा आफ्ना खेलाडीलाई आराम दिन अर्जेन्टिना फुटबल फेडेरेसनले गरेको आग्रह इंग्लिस प्रिमियर लिग क्लबहरुले अस्वीकार गरेका छन् ।
विश्वकपमा आफ्नो खेल अगाडि नै हुने भन्दै अर्जेन्टिनाले नोभेम्बर १२ र १३ मा हुने प्रिमियर लिगका खेलहरुमा आफ्ना खेलाडीलाई टिममा नराख्न अनुरोध गरेको हो ।
यसअघि अर्जेन्टिना एफएले एउटा इंग्लिस क्लबलाई विश्वकपअघि अन्तिम चरणको लिग खेल अगाडि नै आफ्ना खेलाडी रिलिज गर्न पत्राचार गरेकोमा क्लबले अस्वीकार गरेको थियो ।
क्लबले प्रिमियर लिगका अरु क्लबहरुलाई यसबारे जानकारी गराएको थियो । त्यसपछि क्लब र देशबीचको विवादमा लिगका सबै क्लबहरु एकस्वर हुने अनौपचारिक सहमति भएको बताइन्छ ।
अर्जेन्टिनी राष्ट्रिय टोलीका ६ जना स्टारहरु प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिरहेका छन् । लिसान्द्रो मार्टिनेज र अलेजान्द्रो गार्नाचो म्यानचेस्टर युनाइटेडमा छन् । एस्टोन भिल्लामा इमिलियानो बुण्डिया र इमिलियानो मार्टिनेज अनुबन्ध छन् । क्रिष्टियन रोमेरोले टोटनह्याम र एलेक्सिस म्याक एलिस्टरले ब्राइटनबाट खेलिरहेका छन् ।
लियोनल स्कोलानीको प्रशिक्षणमा रहने अर्जेन्टिनाले नोभेम्बर १६ मा युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ । समूह सीमा रहेको अर्जेन्टिनाले त्यसको ६ दिनपछि साउदी अरवसँगको खेलमार्फत विश्वकपको सुरुवाल गर्नेछ ।
फिफाको नियमअनुसार नोभेम्बर १४ सम्म खेलाडी रिलिज गर्न क्लबहरु बाध्यकारी हुने छैनन् । विश्वकप अघिको अन्तिम चरणको खेलमा खेलाडी आफैंले चोटग्रस्त भएको स्वघोषणा गर्न सक्नेमा क्लबहरु सचेत छन् ।
प्रशिक्षक स्कोलानीले विश्वकप खेल्ने प्रारम्भिक अक्टोबर २१ मा ५५ बाट ३५ हुँदै ३२ जनाको टिम बनाएका छन् । टिममा रहेका अधिकांशको नाम गोप्य राखिएको छ । नोभेम्बर १३ सम्म २६ जना खेलाडीको सूची सार्वजनिक गरिसक्नुपर्नेछ ।
अनलाईनखबरबाट