देवचुली ,
लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समिति देवचुलीको नगर सम्पर्क कार्यालय शुक्रबार देवचुली १३ दलदलेमा स्थापना गरिएको छ। आसन्न मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यालयको स्थापना गरिएको हो। देवचुली नगरपालिका लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन समितिका संयोजक डिल्लीराम कडरियाको अध्यक्षता सँगै नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र न १ का उम्मेदवार डा. शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. कोइरालाले आफ्नो जित सुनिश्चित रहेकाले यसको लागी सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो। कोइरालाले अहिलेको राजनीतिक परिस्थितिमा गठबन्धनको आवश्यकता भएकोले एउटै बिचार र उद्देश्यसहित ५ दल मिलेर चुनावी मैदानमा होमिएको बताउनुभएको थियो।
समितिका संयोजक कडरियाले आज सम्म कोइरालाको कार्यहरुलाई प्रचार नगरिएता पनि उहाँले यस क्षेत्रका लागी धेरै कार्यहरू गरिसक्नुभएकाले यसपटक फेरि पनि उहाँलाई जिताउन यस नगर भित्रका सबै लोकतान्त्रिक वाम गठबन्धनका कार्यकर्ता तथा नेताहरूलाई लाग्न आग्रह गर्नुभएको छ। उहाँले विभिन्न कार्यका लागी बनाइएको समिति तथा उप समितिहरूलाई गठबन्धनको उम्मेदवारहरूलाई जिताउन सबै दलका कार्यकर्ता तथा नेताहरूलाई मिलेर प्रचार प्रसारमा लाग्न अनुरोध गर्नुभएको छ।
साथै कार्तिक ५ गते शनिबारदेखि गठबन्धनका उम्मेदवारहरू वडा गत प्रचारप्रसारमा लाग्ने कार्यक्रम समेत तय गरिएको जानकारी गराउनुभएको थियो।
कार्यक्रममा नवलपुर क्षेत्र न १ ख का उम्मेदवार लोक प्रसाद भुर्तेल , प्रदेशका समानुपातिक उम्मेदवारद्वय गजेन्द्र बहादुर आले र पूर्ण थापा ( कुशल रक्षा ) , संघका समानुपातिक उम्मेदवार बिना थनेत , प्रदेश सभा सदस्य माननीय ओमकला गौतम , निर्वाचन परिचालन समितिका सहसंयोजकहरू सत्य नारायण भुसाल , कृष्ण गैरे र शषी सिग्देल , नेपाली कांग्रेस देवचुलीका नगर उपसभापति भोजेन्द्र रायमाझी ,लोकतान्त्रिक वाम गठबन्धनका सदस्य शंकर बहादुर नेपाली , नेपाली कांग्रेस नवलपुर प्रदेश १ ख का उपसभापति महेन्द्र कुमार पिया , प्रदीपराज घिमिरे लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।