आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । यस्तै आयाजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक÷एक स्वर्ण जितेको छ । टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो ।प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो । प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए । यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक्स खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पधा भएको थियो । २ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रोदिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको अग्रता कायमै
पोखरा गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागिय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ काँस्य पदक सहित कुल ५९ पदक जितिसकेको छ । यसैगरी वागमति प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्य सहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदक सहित ३० पदक जितेको छ । यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य, लुम्बिनि प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदुर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदक सहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदको आधिकारिक एप्समा उल्लेख छ ।
बुद्धिचाल तर्फको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मीलाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न सफल हुनुभएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गरेका थिए ।त्यस्तै क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ की खेलाडी कृतिसारा अधिकारी, छैटो चरणको खेलमा नेपाल पुलिस क्लबकी पुनम प्रसाई, सातौ चरणको खेलमा गण्डकी प्रदेशकी पुजा भण्डारी र आठौ चरणको खेलमा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशिला गुरुङलाई पराजित गरें ।प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भइन् । त्यस्तै प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ । स्वर्ण पदक बिजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल जितेर स्वर्ण पदक बिजेता बनेका हुन् ।
महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।खेलको २ आँै मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडीको यात्रा तय गराएकी थिईन् । लगत्तै खेलको ६ औँ मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन् । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन । खेलको दोस्रो हाफको ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले चौथो गोल गरिन भने ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।यस्तै सोमबार वालिङमा भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।खेलको ५ औँ मिनेटमा प्रदेश १ की अनिता गुरुङले पहिलो गोल गरिन भने २२ औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन ।खेलको दोस्रो हाफको ८४ औँ मिनेटमा तिर्था कुमारी लिम्बुले तेस्रो गोल गरिन भने लगत्तै ८५ औँ मिनेटमा अन्जना थुलुराईले चौथो गोल गरिन ।खेलको ८७ औँ मिनेटमा ममता राउतले पाँचौ गोल गरिन भने एडिसनल समयमा थप गरिएको ३ मिनेटमा पुनः अन्जना थुलुङरार्ईले छैटौँ गोल गरिन् ।हाल सम्म मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बीनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेलबाट बाहिरिएका छन् ।मंगलबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर एक, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विच प्रतिस्पर्धा हुनेछ ।
सशस्त्र र पुलिस महिला क्रिकेटको उपाधिका लागि भिड्ने
सशस्त्र प्रहरी बलको एपीएफ क्लव र नेपाल पुलिस क्लव पोखरामा जारी नवौं महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन् । सोमबार भएको खेलमा एपीएफले लम्बिनी प्रदेशलाई तथा पुलिसले वागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।सोमबारको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेश ६७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाम गराइन् ।पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् । प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए । अर्को सेमिफाइनलमा पुलिसले वागमती प्रदेशमाथि ३६ रनको जित निकालेको हो । पहिला व्याटिङ गरेको पुलिसले काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रनमा ४ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । प्रत्युत्तरमा वागमतीको पारी ८७ रनमै समेटियो । वागमतीले पुरा २० ओभरमा ८ विकेट गुमाउँदा पुलिसका बलरहरु कविता कुँवरले ३, इश्वरी विष्टले २ तथा रुविना क्षेत्री र संगिता राइले समान १–१ विकेट लिए । वागमतीको तर्फबाट सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाए । वागमतीका बलरहरु अस्मिना कर्मचार्य, खुसी डंगोल र सुमन खतिवडाले समान १–१ विकेट लिए । खेलमा पुलिसका कविता कुँवर प्लेयर अफ द म्याच भइन् ।
पुरुष बास्केटबलमा गण्डकीको दोहोरो जित
गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अकं ल्याएका थिए ।त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । समुह बि तर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको छ । घरेलु टोली गण्डकीले मधेशलाई १०९–३६ स्कोरले पराजित गरेको छ । गण्डकीलार्इृ जिताउन बिकाश गुरुङले सर्वाधिक स्कोर १५ पोइन्ट जोडेका थिए । त्यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णालीलाई १०८–४९ स्कोरले जितेको छ । एपिएफका सदिश प्रधानले २० अकं जोडेका थिए ।समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ८ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस र बागमती प्रदेश समना ५, ५ अकंका साथ दोस्रो स्थानमा छन । त्यस्तै प्रदेश १ र लुम्विनीको सामान ३, ३ अकंका साथ समुहको पुच्छारमा रहेका छन । समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ ६ अकंका साथ शिर्ष स्थानमा छ भने कर्णाली र र गण्डकी समान ५, ५ अकंका साथ दोस्रो स्थानमा छन् । सुदुरपश्चिम प्रदेशल र मधेश प्रदेशले समान ४, ४ अकं ल्याएका छन् । आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो । ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ भोलि कार्तिक १ गते हुने खेलहरुमा लुम्बिनी र प्रदेश १ भिड्दैछन् भने नेपाल पुलिस र बागमती प्रदेशबीच दास्रो खेल हुँदैछ । त्यस्तै समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् । ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए मा त्रिभुवन आमी क्लव र नेपाल पुलिसबीच खेल हुँदैछ भने दोस्रो खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्दैछन् । त्यस्तै समुह बि तर्फ सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश दोस्रो खेलमा लुम्विनी र कर्णालीबीच प्रतियोगिता हुने खेल तालिका रहेको छ ।
पुरुष फुटबलमा समूह बिजेता बन्दै एपीएफ सेमिफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह (बी) को बिजेता बन्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले वागमतीलाई ३–१ गोलले पाखा लगाउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । जीतसँगै ६ अंकका साथ एपीएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जित हात पारेको हो ।जित्नैपर्ने बाध्यतामा रहेको वागमतीले खेलको सुरुवातदेखी नै एपीएफलाई निकै दबाबमा राखेको थियो । आठौं मिनेटमा अमित तामाङको फ्रिकिकमा अञ्जन विष्टको ब्याक हेडर पहिलो बार नजिकैबाट बाहिरियो । २३ औं मिनेटमा अञ्जन विष्टको पासमा अभिषेकको प्रहार एपीएफका गोलरक्षक राजु नगरकाटीले सहजै बचाउ गरे । ३० औं मिनेटमा कप्तानले एपिएफका विकु तामाङलाई फाउल गरेपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । एपीएफका मनि लामाको प्रहारमा सनिस श्रेष्ठको हेडर बाहिरियो । ४० औं मिनेटमा सुनिल बलको प्रहार बाहिरियो । ४६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४७ औं मिनेटमा बागमतीका सुनिल बललाई एरिक विष्टले दिएको चिपपासमा एपिएफका गोलरक्षक राजु बाधक बने । ५३ औं मिनेटमा मनि लामाको फ्रिकिक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । सरोज दाहालले विकु तामाङलाई धकेलेपछि फ्रिकिकको अवसर प्राप्त गरेको हो । ५८ औं मिनेटमा एपीएफका कप्तान टोपबहादुर विष्टले गोलरक्षकलाई पास दिन खोज्दा अञ्जन विष्ट बलसम्म पुग्ने प्रयास गरेपनि गोलरक्षक राजुले अघि बढ्दै टोलीको संकट टारे । ६५ औं मिनेटमा एपीएफका प्रदीप लामाले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन गराए । प्रदीप लामा र सनिस श्रेष्ठबीचको उत्कृष्ट तालमेलसँगै बराबरी गोल गर्न सफल भएको हो । प्रदीपले सनिसलाई र सनिसले पुनः प्रदिपलाई वान टच रनिङपासमै उनले उत्कृष्ट गोल गरे । ७६ औं मिनेटमा नवीन लामाले उत्कृष्ट गोल गरे । डिबक्स नजिकैबाट गरेको शसक्त प्रहार क्रसबारमा लाग्दै गोल हुन पुग्यो ।वागमतीले ७९ औं मिनेटमा पुनः खेलमा अग्रता लिने अवसर गुमायो । करिब ३७ यार्डमा पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । एपीएफका दीपेश धिमालले अञ्जन विष्टलाई लडाएपछि फ्रिकिकको अवसर पाएको हो । अमित तामाङले प्रहार गरेको बलले मानविय पर्खाल नाघ्न सकेन । वागमतीले ८३ औं मिनेटमा डिबक्स नजिकै फ्रिकिकको सुवर्ण अवसर खेर फाल्यो । अमितले नै प्रहार गरेको बल गोलरक्षकले पन्च गर्दै बचाउ गरे । लगत्तै अञ्जन विष्टको प्रहार क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा एपिएफका डिफेन्डरले क्लियर गरे । ८९ औं मिनेटमा प्रदीप लामाको पासमा आभाष लामिछानेको शक्तिशाली प्रहार बाहिरिदाँ एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै ९१ औं मिनेटमा नविन लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा पु¥याए ।यस अघि एपिएफले मधेश प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो । हारसँगै अंक विहिन बनेको मधेश प्रदेश लिगचरणबाटै बाहिरी सकेको छ ।
प्रतिष्ठाको खेलमा पुलिस विजयी
यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । समूह ‘सी’ अन्तरगत भएको प्रतिष्ठाको खेलमा पुलिसले सानदार जित निकालेको हो । समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो । पुलिसको जितमा कुलदिपले दुई तथा आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १÷१ गोल गरे । लम्बिनीका लागि फागु राम थारुले एक गोल गरे ।
एनआरएन र गण्डकीबीच रद्द भएको खेलको निर्णय गण्डकीको पक्षमा
उता आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ । एनआरएनले नियम विपरित ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं. १ ले प्रोटेस्ट दिएपछि २–० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो । ८ जना खेलाडीलाई कारवाहि गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारवाहि गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो । निर्णयसँगै गण्डकी ६ अंकका साथ शीषस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवौं राष्ट्रिय खेलकुदमा बुधबार दोहोरी गीत प्रदर्शन गरिने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ ।दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।
२४ खेलाडी उसु सान्सौको क्वाटरफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए ।सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए । महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् । महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । सोही तौल समूहमा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई हराएकी छन् । ५६ केजी समूहमा बागमतीकी शशिकला राईलाई रोकेर सशस्त्र प्रहरीकी विद्या गुरुङ क्वाटर फाइनलमा गएकी छन् । ६० केजी समूहमा नेपाल प्रहरीकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा आफ्रे अघिल्लो चरणमा पुगेका छन् । उनीहरुले क्रमशः बागमतीकी अम्बिका तामाङ र लुम्बिनीकी आयशा शाहीलाई पराजित गरेका हुन् । ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावत प्रमिला विकलाई रोकेर अघिल्लो चरणमा गएकी छन् । मनिषा सशस्त्र र प्रमिला प्रदेश १ का खेलाडी हुन् । सोमबार बिहान सान्सौमा पुरुषतर्फ १६ खेल भएका छन् । ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र नेपाली सेनाका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् ।५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् ।पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रष्ेठ विजयी भएका छन् । सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।
महिला भलिवलमा एपीएफ, पुलिस, बागमति र गण्डकी सेमिफाईनलमा
नवौं राष्ट्रिय खेलकुदमा महिला भलिवल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमति र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ । म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेशलाई हराएको हो । यस्तै बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिमलाई हराएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिसले त्रिमुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । पुलिसले २५–१३, २५–२०, २३–२५ १४–२५ र १५–१३ को सेटमा हराएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ लाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लबकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई घोषित भइन् । मंगलबार दुई सेमिफाईनल हुने छन् । पहिलो सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्दै छन् ।
रग्बीमा लिग चरणका १२ खेल सम्पन्न
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन । पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ ।यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल भएको छ । बाग्मती प्रदेशले मधेश प्रदेशलाई १२–५ अंकले पराजित गर्दा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बीनी प्रदेशलाई १२–७ अंकले पराजित गर्न सफल भएको छ ।सोमबार नै महिलातर्फ बिभागीय टिम नेपाल आर्मी ले कर्णाली प्रदेशलाई १७–५ अंकले पराजित गरेको छ भने सुदुरपश्चिम प्रदेश र नेपाल पुलिसको खेल गोलरहित बराबरीमा टुंगीएको थियो ।यस्तै प्रदेश १ ले बाग्मती प्रदेशलाई १०–५ अंकले हराएको छ भने नेपाल पुलिसले गण्डकी प्रदेशलाई २२–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ । सुदुर पश्चिमले कर्णाली प्रदेशलाई १७–० ले पराजित गर्दा एपिएफले प्रदेश १ लाई १०–० अंकले पराजित गरेको छ ।सोमबारको अन्तिम खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई १०–५ अंकले पराजित गरेको छ । प्रतियोगीतामा मंगलबार लिग चरणका अन्तिम ८ खेलहरु हुनेछन भने सेमिफाईनल चरणका खेलहरु पनि मंगलबारबाट नै शुरु हुने भएका छन ।
जुडोका खेल मंगलबारदेखि, १५ स्वर्णमा प्रतिस्पर्धा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोका खेल मंगलबारदेखि सुरु हँुदैछन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा खेल हुनेछ । सोमबार खेल तालिका सार्वजनिक गरिएको छ । १५ इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल जुडो संघका खेल निर्देशक सुप्रसिद्ध ताम्राकारले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फ महिला पुरुषको ७÷७ इभेन्ट हुनेछ ।व्यक्तिगत इभेन्टमा सात प्रदेशसँगै, तीन विभागिय र एनआरएनएका गरेर १५७ खेलाडीको सहभागिता रहने ताम्राकारले बताए । मिक्स टिम इभेन्टको एक खेल हुनेछ । मिक्स टिम इभेन्टमा आठ समूह सहभागी छन् ।पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । ४८, ५२, ५७, ६३, ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १५ स्वर्ण र १५ रजतका लागि खेलाडी भिड्नेछन् । ३० कास्य पदक वितरण हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार खेलाडीको तौल परीक्षण गरिएको छ । मंगलबार बिहान ८ बजेदेखि खेल सुरु हुनेछ ।
लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा
पोखरा
सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाममा लेखाईन् ।पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् ।प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए ।