भरतपुर,
गजल मञ्च चितवनको अध्यक्षमा लेखराम सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार नारायणगढमा सम्पन्न आठौँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अढाइ दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा क्रियाशील सापकोटाको विशेष दख्खल गजल लेखनमा छ । उनले २०६१ सालमै गजलसङ्ग्रह प्रकाशन गरेका थिए ।
`श्रद्धाका फूलहरू´ (२०६१) गजल सङ्ग्रह उनकाे पहिलाे एकलकृति हाे । त्यसबाहेक सहलेखनमा उनका `गजलपथका यात्रीहरू´ र `गजल विम्ब´ सङ्ग्रह पनि प्रकाशन गभएका छन् । गजलबाहेक कविता र मुक्तकमा पनि उनी कलम चलाउँछन् ।
पुस्तक पठन संस्कृतिका अनवरत अभियन्ताकारूपमा परिचित सापकोटा अखबारी लेखनमा पनि सक्रिय छन् । उनको प्रबन्धकीय नेतृत्वमा नारायणगढबाट कायाकैरन दैनिक र कायाकैरन डटकम प्रकाशन हुन्छन् । त्यस्तै नित्तान्त साहित्यिक किताब बेचबिखन हुने सम्पूर्ण किताब नारायणगढ उनकै नेतृत्वमा सञ्चालनमा छ ।
मञ्चको नेतृत्व लिएका सापकोटा अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । अध्यक्ष रहेका द्वारिका नेपालको हृदयाघातका कारण निधन भएपछि सापकोटा कार्यबाहक अध्यक्ष थिए । उनकै अध्यक्षतामा शनिबार गरिएको साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व छानिएको हो ।
निर्वाचित पदाधिकारीहरूमा रामकृष्ण अनायास उपाध्यक्ष, सरगम पारु सचिव, लक्ष्मी घिमिरे कोषाध्यक्ष र प्रमिला सानु सहसचिव छन् । त्यसैगरी सदस्यहरूमा सिम्रन क्षेत्री, सुमन मुस्कान, कृष्णप्रसाद सिम्खडा, सरस्वती पौडेल र अविरल यात्री रहेका छन् ।
निर्वाचन समितिका संयोजक एवम् गजल मञ्च चितवनका पूर्वअध्यक्ष किसान प्रेमीले निर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए ।
साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा चितवनका सशक्त गजलकार मुक्त उदासलाई द्वारिका नेपाल गजल स्मृति पुरस्कार २०७९ प्रदान गरिएको छ । दशकभन्दा लामो समयदेखि गजल लेखनमा सक्रिय उदासलाई प्रमुख अतिथि वरिष्ठ गजलकार केशवराज आमोदी र स्वर्गीय द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्यालले नगद, सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे । पुरस्कार राशी १० हजार छ ।
गजल मञ्च चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्कघातका कारण निधन भएको थियो । नेपालको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कारको संरक्षकका रूपमा डिला खरेल रहेका छन् । भरतपुर घर भएका खरेल अस्ट्रेलियामा बसोबास गर्छन् ।