पोखरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् । शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरु सकिएका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न एक हजार ५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए । आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । एपिएफका अजित यादव र नागेश्वर अहिरले कास्य र रजत पदक प्राप्त गरे । अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दुरी पार गरे ।
महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट ३८.१९ सेकेन्ड पुरा गरेकी हुन् । रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले े ५ मिनेट ०३.८० सेकेन्डमा दुरी पार गर्दै कास्यपदक हात पारिन् ।
सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते । तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते ।१०० मिटर दौडको पुरुषतर्फ एपिएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते । शिवराजले आर्मीका युवराज विकलाइ हराउँदै स्वर्ण जितेका हुन् । युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते ।
महिलातर्फ स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले स्वर्ण पदक सहित राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२.१५ सेकेन्ड समय लगाएकी थिइन् । आर्मीकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२.९३ सेकेन्ड पार गरिन् ।
बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारे महिला १० हजार मिटर दौड स्वर्ण पदक जितेकी छन् । उनले ३६ मिनेट १९.३६ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितिइन् । राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी हुन् ।सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।