सरलाई स्वागत छ ।
पछिल्लो समय देवचुलीको बसाई यहाँले कस्तो अनुभुति गर्दै हुनुहुन्छ ?
- कामको हिसाबले जुन पालिकामा गए पनि उस्तै हो । भुगोलको हिसाबले देवचुली नगरपालिकालाई भिन्न नयाँपन के कुरा दिन सकिन्छ भन्ने अनुभूति गर्दैछु । अरु कामको हिसाबले धेरै लामो समय स्थानिय तह, स्थानिय पालिका, साविकका जिल्ला विकास समितिमा बसेर काम गरेको हुनाले म त्यति अल्मलिनु पर्ने छैन ।
तपाईं स्याङ्जाको, देवचुलीमा स्याङ्जा, पर्वत पुर्ख्यौली भएका धेरै हुनुहुन्छ, आफ्नै घरमा फर्किएको महसुस त गर्नुभएन ?
- एकदम,नगरपालिकाले स्वागत गर्दा पनि मैले भनेको थिए, मलाई त आफ्नै घरमा आएको जस्तो अनुभव भएको छ भनेर । कामको सिलसिलामा म कहिले कता कहिले कता हुन्थें । तर अहिले देवचुली आईपुग्दा मेरो जन्म थलो स्याङ्जा आए जस्तै लागेको छ । देवचुली मेरो लागि सबै हिसाबले राम्रो हुन्छ भन्ने अनुभव भएको छ ।
यो छोटो समयको अनुभव हेर्दा देवचुलीका वासिन्दसँग काम गर्न यहाँलाई कतिको सहज होला जस्तो लाग्छ ?
- खास गरि स्थानिय तहहरु भनेको जनप्रतिनिधिको अड्डा हो । हामी कर्मचारी भनेको उहांहरुको निति–नियमलाई सहजिकरण गर्दिने हो । मेरो छोटो अवधिको बुझाइमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध राम्रो पाएको छु , यो हिसाबले हेर्दा काम गर्न सजिलो हुने देखिन्छ । मैले पनि आफ्नो प्रयासले सकेसम्म जनप्रतिनिधिसँग मिलेर काम गर्ने र यो पालिकालाई सबैमा पहिचान दिलाउन कोसिस गर्नेछु ।
यहाँले लामो समय स्थानिय तह,पालिका र जिल्ला विकासमा काम गर्दैगर्दा देवचुलीमा फरक विशेषता के पाउनु भयो ?
- भुगोलको हिसाबले सानो नगरपालिका थोरै जनसंख्या भएको नगरपालिकामा काम गर्न सजिलो हुन्छ भन्ने अनुभुति भएको छ । कामको क्रममा प्रत्येक दिन वडाको योजना के कस्तो छ अवलोकन गर्न सकिने अवस्था देखिन्छ । त्यति हुँदाहँदै पनि नगरपालिकाले स्रोतसाधनको परिचालन गर्न नसक्दा विकासमा पछि परेको देखिन्छ ।
तपाई देवचुली नगरपालिका आउनु भएपछि भएको नयाँ कार्य व्यवसाय दर्ता,नविकरण गर्न घुम्ति शिविरको परिकल्पना र कार्यान्वयन कसरी गर्नु भयो ?
- कर तिर्ने दायित्व सबै नागरिकको हो । विशेष गरि नगरपालिकाको विकासको लागि राजस्व संकलन गर्नै पर्ने हुन्छ । पहिलाको ५ वर्षमा त्यो काम नभएको पाँए । हामीसँग स्रोत पहिचान गरेर राजस्व उठाउने अधिकार संविधानले दिएको छ । यसरी सधैं कर छोड्ने भए नगरपालिकाले विकास गर्न सक्दैन । विकासको स्रोत जुटाउनलाई पनि कर संकलन गर्नुपर्ने हुन्छ । अब यसलाई निरन्तरता कसरी दिने भन्ने चुनौति छ । देवचुलीका सबै क्षेत्रलाई छिटै ऐन अनुसार करको दायरामा ल्याउने छु । मलाई लाग्छ ढिलो चाँडो यो सफल हुन्छ ।
तपाईको बुझाईमा अघिल्लो कार्यकालमा भौतिक बिकास भए तर यहाँका जनता र जनप्रतिनिधिको बौद्धिक बिकास भएन ?
- बौद्धिक बिकास भएन भन्नु भन्दा पनि ऐनको अधिकार स्थापित गर्न खोजिएनछ भन्ने बुझिन्छ । यहाँ मात्र होइन अघिल्लो कार्यकालमा कुनै पनि ठाँउमा करको दायरामा ल्याउन सकेको देखिएन ।
भने पछि स्थानिय सरकार ऐनको अधिकार अनुसार चल्ने हो भने आन्तरिक स्रोत पनि बढ्छ नगरपालिकाको र नगरबासीले धेरै लाभांस पाईन्छ ?
- बिकासको हिसाबले हेर्दा यो नगरपालिका मध्यबिन्दुमा पर्छ,यसमा पर्यटन सम्भावना धेरै छन् । यसलाई स्तर उन्नति गर्न सके धेरै लाभ लिन सकिन्थ्यो तर त्यो काम भएको पाइएन । यहाँको संस्कार र संस्कृतिलाई नगरपालिकाले उजागरण गर्नु पर्छ । पर्यटकहरु आईराख्दा पनि नगरपालिकाले खासै ठूलो उपलब्धि लिन सकेको छैन । देवचुली नगरपालिकाले यहाँ आउने पर्यटकहरुलाई यहीं बस्ने वातावरण मिलाउन सक्ने र केही नयाँपन दिन सक्ने हो भने पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ,बाटो मात्र बनाएर बिकास हुदैन ।
देवचुली नगरपालिकाबासीहरुलाई तपाई प्रमुख प्रशाशकिय अधिकृतको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
- यो नगरपालिका हाम्रो हो भन्ने सबैले मनन् गर्दिनु पर्यो । नगरपालिका एउटा संस्था हो त्यसले समग्र काम गर्छ तर प्रत्येक नागरिकले पनि अपनत्व लिनु पर्छ । प्रत्येक नागरिकले यो काम नगरपालिकाले गर्छ भनेर छोड्यो भने त्यो कामले गति लिन सक्दैन । सबैले आफ्नो तहबाट काम गर्ने र नगरपालिकालाई काम गर्न हौसला दिने हो भने चाँडै बिकासको फड्को मार्छ । तर काम गर्ने कुरामा नगरपालिका एक्लैले गर्नु पर्छ भन्ने मनसाय बोकेर कोहि पनि नबसिदिनु अनुरोध छ । सबैको हातेमालो भयो भने देवचुली नगरपालिकालाई सुन्दर नगरपालिका बनाउन सकिन्छ । नगरपालिका बनाउने जिम्मेवारी र दायित्व हामी सबैको हो सहकार्य गरेर अगाडि बढ्ने हो भने पालिकाको चौतर्फी बिकास हुन्छ यसमा सबैको हातेमालो रहोस भन्ने चाहान्छु ।
यहाँको समय र सम्वादलाई धेरै–धेरै धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम नगर सरोकारका लागी आदर्श सुशिलले गर्नुभएको हो ।