नवलपुर
नवलपुर १ क प्रदेशका स्वतन्त्र उम्मेदवार नारायण भण्डारीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ५ 'ज' एजेन्डा सहितको घोषणा पत्र सार्वजनिक गरेका छन्। आज आइतबार पत्रकार सम्मेलनको आयोजना गरि भण्डारीले नीतिगत घोषणा तथा आफ्ना योजनाहरू सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेका घोषणा पत्रमा मन्त्रालय र सांसदहरूको खर्च कटौती गर्ने , ५ 'ज' को नीति स्थानीयलाई दिने , युवा तथा रोजगारको व्यवस्थापन गर्ने , भुमिहिनहरुको समस्या समाधान गर्ने , यस क्षेत्रका सार्वजनिक भौतिक संरचनाहरूको संरक्षण गर्ने , प्रदेश १ 'क' को आम्दानीको श्रोत बनाई नवलपुरलाई सक्षम जिल्ला बनाउने , घरेलु मदिरालाई प्रशोधन गरि रास्ट्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने जस्ता योजनाहरुलाई उल्लेख गरेका छन्।
घोषणा पत्र सार्वजनिक गर्दै भण्डारीले स्वास्थ्य , शिक्षा , कृषि , पर्यटन , खेलकुद , भौतिक तथा पूर्वाधार विकास सँगै युवा व्यवस्थापन र रोजगारको क्षेत्रमा महत्वाकाङ्क्षी योजना रहेको बताए ।
उनले यस नवलपुर १ 'क' प्रदेशको क्षेत्र समय समयमा परिवर्तन भएपनि यस ठाउँलाई चिनेको र बुझेको सक्षम युवा नेतृत्वकारी भूमिकामा नआउँदा विकासले गति लिन नसकेका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको समेत बताएका छन्।
उनले विकासका लागि ५ 'ज' अर्थात् जनशक्ति, जमिन, जलस्रोत, जडिबुटी र जनावरको व्यवस्थापन गर्न सके मात्रै विकासले फड्को मार्ने बताएका छन् ।
यस अघि नै स्वतन्त्र युवा बालेन र हर्क साङपाङले चुनाव जितेर विकासको गति लिइसकेकाले अबको दिनमा युवाले देश विकासमा डटेर काम गर्ने दिन आएको भन्दै आफूले पनि नवलपुरको विकासका लागि काम गर्ने बताएका छन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु अघि भण्डारी जनता समाजवादी पार्टीको गण्डकी प्रदेश उपाध्यक्ष रहेका थिए । उनले सोही पार्टीबाट गत स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।