देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था देवचुली १४ को तेस्रो वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मानसिंह खत्रीको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष खत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। खत्रीले मन्तव्य राख्दै संस्थाका शेयर धनीहरूलाई १३.५ % प्रतिशत शेयर लाभांश वितरण गर्ने र संरक्षिपुँजी फिर्ता कोषबाट बचतकर्तालाई बचतमा प्राप्त गरेको ५ प्रतिशत प्रदान हुने र ऋणी सदस्यहरूले बुझाएको ब्याजमा ४ प्रतिशत फिर्ता हुने प्रस्ताव राखेका थिए।
यो सँगै हाल संस्थाको संस्थागत कोष रु ८ करोड २१ लाख पुगेको समेत बताएका थिए। सचिव कुस्माखर काफ्लेले संस्थाको वार्षिक लक्ष्य र कार्यनीति प्रस्तुत गरेका थिए। काफ्लेले यस आर्थिक वर्षमा संस्थाले गरेको आम्दानी , खर्च र नाफाको जानकारी गराएका थिए। उनले संस्थाले आव २०७८/०७९ मा पौने ६ करोड बराबरको शुद्ध मुनाफा संकलन गरिने र वित्तिय लगानी , वासलात र संस्थाको स्थिर एवं सम्पत्ति वृद्धि गर्ने लक्ष्य रहेको समेत बताएका थिए।
उनले संस्थामा आवद्ध शेयर सदस्यका लागी चितवन मेडिकल कलेज , कलेज अफ मेडिकल साइन्सेज लगायतका अधिकांश मेडिकलहरुमा छुट सुविधा हुने सम्झौता सनत भइसकेको छ।
संस्थाका लेखा तथा सुपरीवेक्षण संयोजक यदुनाथ काफ्लेले संस्थाले वर्षभरी गरेका कार्यहरूलाई विश्लेषण गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरूलाई मध्यनजर गर्दै केहि सुझाव हरु दिएका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले संस्थाले छोटो समयमा गरेको प्रगतिको लागि सरोकारवाला सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ समुदायको हकहितमा काम गर्दै सबैको मनमुटुमा बस्दै उत्कृष्ट बन्न अग्रिम शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार , स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी , सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी , सम्पूर्ण शेयर सदस्यहरू लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हाल संस्थाले बिभिन्न ७ वटा सेवा केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ भने कुल २२ हजार ४ सय शेयर सदस्यहरू रहेका छन्। कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले यस संस्थाले सहकारीको महत्व बुझाएर समाज र स्थानीयलाई समृद्ध बनाउन अग्रसरता देखाएकोले आगामी समयमा संस्थाको प्रगतिको सफलताको शुभकामना व्यक्त गरेका थिए।