चितवन
मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा कलाकारहरू रमेश रानामगर, सनम आलेमगर, ईश्वर रानामगर, स्रष्टी थापामगर, प्रीज्मा आलेमगरलगायतका कलाकारहरूले अभिनय गरेका छन्। मनोज लामा र रेनु तामाङको निर्देशनमा बनेको गीतको भिडियोको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका हुन्। सर्जक दिवान किनारको शब्द/संगीतमा तयार भएको गीतमा पवन रानामगर र देवी घर्तीमगरको आवाज सुन्न सकिन्छ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरूङ र देवेन्द्र रानामगरको संयुक्त लगानीमा निर्माण भएको हो। रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन पाटामगरलगायतका कलाकारहरूको यस चलचित्रमा मुख्य अभिनय छ।
चितवनका सञ्चारकर्मी एवम् पत्रकार रमेश रानामगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा घना गुरूङले छायांकन तथा सम्पादन गरेका हुन्। चलचित्रलाई रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो। चितवनबाट निर्मित मगर संस्कृतिमा आधारित पहिलो चलचित्र हो। यो चलचित्र चितवनका केही स्थानमा प्रदर्शन भइसकेको छ भने केही स्थानमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक एवम् नायक रमेश रानामगरले जानकारी दिए।