देवचुली
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु देवचुलीले आगामी आश्विन १४ गते सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। आज बुधबार अनेरास्ववियु देवचुलीले पत्रकार सम्मेलनको क्रममा 'अखिल साँझ – २०७९' को आयोजना गरेको बताएको छ।
देवचुली नगरपालिका भित्रका विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १ सय गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रम संयोजक निशान्त न्यौपानेको अध्यक्षता सँगै अनेरास्ववियु नवलपुरका इन्चार्ज तथा केन्द्रिय कमिटि सचिवालय सदस्य सागर न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।
पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक निशान्त न्यौपानेले आश्विन १४ गते शुक्रबार देवचुली १४ मा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम हुने बताएका थिए।
उक्त दिन चर्चित कलाकारहरू रचना रिमाल , देवेन्द्र बब्लु , कोमल ओली , प्रजापति पराजुलीको साथमा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने बताएका छन्। कार्यक्रममा आर्थिक जानकारी गराउँदै खर्च व्यवस्थापनमा अनुमानित ४ लाख रुपैयाँ खर्च हुने जिल्ला उपाध्यक्ष सौगात भुसालले बताएका छन्।
आश्विन १४ मा हुने कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बडाल , नेकपा एमालेका नेता तिलक महत सँगै अन्य व्यक्तिहरूले सम्बोधन समेत गरिने अनेरास्ववियु देवचुलीका अध्यक्ष गैरेले बताएका छन्।
गैरेका अनुसार आश्विन १३ गते बिहीवार बिहान ७ बजे दलदलेमा रहेको देवचुली अस्पतालको परिसरदेखि कार्यक्रम स्थल सम्म सरसफाइ कार्यक्रमको समेत आयोजना गरिएको छ। कार्यक्रममा प्रवेश शुल्क भने निशुल्क गरिएको छ।