देवचुली,
स्वास्थ्य बिमा सम्बन्धी अन्तरक्रिया तथा विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम दुम्कौली अस्पतालमा सम्पन्न भएको छ ।
आइतबार दुम्कौली अस्पतालको आयोजनामा देवचुली नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, अस्पतालका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य बिमा कर्ता लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले ८ वटै पालिकाको आशाको केन्द्र रहेको अस्पतालको विकासमा सबैले चासो र चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले अस्पतालको भौतिक पूर्वाधारका निम्ति नगरले तत्काल कार्य अघि बढाउने बताउनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले दुम्कौली अस्पताल जनताको सेवा प्रतिको अपेक्षा रहेको भएपनि सेवा प्रवाह गर्न नसकिएको दुःख व्यक्त गर्दै स्थानीय तहका जन प्रतिनिधिहरुले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य लक्ष्मी सिवाकोटी, बिमा दर्ता सहयोगी होमनाथ पौडेल, वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर केसी, वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, नगर प्रवक्ता तिलप्रसाद काफ्ले र देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी लगायतले दुम्कौली अस्पताल प्रति यहाँका जनताको धेरै अपेक्षा रहेकाले अस्पतालको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताएको थियो ।
कार्यक्रममा दुम्कौली अस्पताल सञ्चालन समितिका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण दुुम्कौली अस्पतालका प्रमुख चित्र बहादुर सुनारले गर्नुभएको थियो ।