देवचुली
देवचुली खेलकुद विकास समितिको आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर भित्र विभिन्न खेलकुदमा बालबालिका देखि युवाहरूको रुचि बढ्न थाले सँगै अबका दिनमा के कस्ता कार्यक्रमहरू ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ।
विषेश गरि देवचुलीमा खेलकुदको अवस्था र चुनौतीको विषयमा छलफल गरि आगामी दिनमा यस क्षेत्रको विकासको लागि आवश्यक पर्ने नीति तथा कार्ययोजनाको विषयमा छलफल केन्द्रित भएको समितिका अध्यक्ष सुवास ओझाले ह्याप्पी टाइम्सलाई बताएका छन्।
कार्यक्रममा देवचुलीका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, समितिका सदस्यहरू, नगर भित्रका जनप्रतिनिधि, विभिन्न खेलका खेलाडी तथा प्रशिक्षक सँगै खेलकुद प्रेमी व्यक्ति र विभिन्न क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरूले नगरले स्थानीय खेलाडीहरूलाई अगाडि बढ्नको लागि अहम भूमिका खेल्न आवश्यक रहेको बताएका थिए। नातावाद र कृपावादलाई बेवास्ता गरि नगरको गरिमा बढाउने खेलाडी र खेलहरूलाई प्राथमिकतामा राखी आवश्यक नीति तथा कार्यक्रमहरू निर्माण सँगै कार्यन्वयन गर्न आग्रह गरेका थिए।
मुख्यतया बिधालय केन्द्रित खेलकुद गतिविधि सञ्चालन गरि धेरै भन्दा धेरै सम्भावना भएका खेलाडीहरू उत्पादन र व्यवस्थापन गरि राष्ट्रमा नै उदाहरणीय नगरपालिका बन्न अनुरोध गरेका थिए।
यो सँगै नगर भित्र व्यवस्थित खेलमैदान नहुनु र भएका खेलाडीहरूको व्यवस्थापन गर्न नसक्दा ठुलो क्षति बेहोर्नुपरेकाले समयमा नै ध्यान दिन आवश्यक रहेको बताएका थिए। कार्यक्रममा बोल्दै वक्ताहरुले अबका दिनमा खेलकुद समिति र नगरपालिकाले सहकार्य गर्दै अबका दिनमा नगरको खेलकुदको विकासका लागि अघि बढ्ने प्रतिबद्धता व्यत्त गरेका थिए ।